एनआरएनए मलेसियाको अध्यक्षमा तीन जनाको दाबी, उम्मेदवारीबाट मात्र ८४ हजार रिंगेट उठ्ने

एनआरएनए मलेसियाले तोकेको मितिबाट एक दिन बढि १७ जुलाईसम्म थपेको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । सबै पदमा परेका उम्मेदवारहरुको दर्ता शुल्क जम्मा गर्दा एनआरएनए मलेसियाको कोषमा ८४ हजार भन्दा बढि रकम जम्मा हुने भएको छ ।
एनआरएन मलेसियाको इतिहासमै पहिलो पटक निर्वाचन प्रणालीबाट पदाधिकारीहरु निर्वाचत हुन लागेका हुन् । यस भन्दा अगाडीसम्म सर्बसहमतिमै कार्यसमिति पदाधिकारीहरु चुनिने गरेका थिए ।
एनआरएन मलेसियाको अध्यक्ष पदमा निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईले फेरि पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै पूर्व अध्यक्ष तथा निवर्तमान अन्र्तराष्ट्रिय समिति सदस्य विश्वबिक्रम राईले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस पटक नयाँ अनुहारका रुपमा बिनोद थापाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
एनआरएन मलेसियाको बरिष्ठ उपाध्यक्ष पदमा निवर्तमान महासचिव हेमराज सापकोटा र इन्द्रनारायण लिम्बुको प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै उपाध्यक्ष पदमा दीलकूमार केरुङ्ग, जयराम तिमल्सिना र राकेशप्रसाद महतो गरि ३ जनाको उम्मेदवारी परेको छ । जसमध्येमा २ जना मात्र उपाध्यक्षमा चुनिनेछन् ।
त्यसैगरि महासचिव पदमा रंजितकूमार क्षेत्री र सूनिल चालिसेको उम्मेदवारी परेको छ । जसमध्येमा १ जना मात्र महासचिव पदमा निर्वाचित हुनेछन् । दुई जनाको कोटा रहेको सचिव पदमा पनि तीन जनाको उम्मेदवारी परेको छ । जसमा नारायण अधिकारी, सन्तोष प्रसाद रिजाल र रोशन सुब्बा प्रतिस्पर्धा गर्दैछन् ।
एनआरएनए मलेसियाको कोषाध्यक्ष पदमा दुई जना प्रतिस्पर्धि देखिएका छन् । जसमा एक जना मात्र निर्वाचन हुनेछन् । कोषाध्यक्ष पदमा उम्मेदवार दिनेमा निर्वातमान कोषाध्यक्ष कृष्णप्रसाद नेपाल र नयाँ अनुहार अशोक लिम्बु रहेका छन् । सह कोषाध्यक्षमा भने बालध्वज लिम्बुको मात्र उम्मेदवारी परेकोले उनि निर्बिरोध निर्वाचित हुने निश्चित भएको छ ।
त्यस्तै यूवा संयोजकमा शमशेरबहादुर मल्ल, अरुण गिरी र कृष्णबहादुर बस्नेतको प्रतिस्पर्धा हुनेछ । जसमध्ये एक जना निर्वाचित हुनेछन् ।
संस्थाको महिला संयोजकमा मिरा पुरी गिरीको मात्र उम्मेदवारी परेकोले उनि पनि स्वत: निर्बिरोध निर्वाचित हुने भएकि छिन् ।
यस अगाडी महिला उपाध्यक्ष पद रहने गरेकोमा यस पटक भने महिला संयोजक पद राखिएको छ ।
एनआरएन मलेसियामा सात जना कार्यकारी सदस्य पद रहने भएता पनि ७ जनाले मात्र उम्मेदवारी दर्ता गरेका छन् । जसमध्येमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, दिने खड्का, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा रहेका छन् ।
त्यसै गरि एनआरएन मलेसियाले यस पटक पाँच हजार भन्दा बढि सदस्य संख्या पुर्‍याएकोले पाँच जना अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) पाउने छ । जस मध्येमा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्येमा बिरेन्द्र नेगि, लालबहादुर आले, नन्दबहादुर क्षेत्री, टेकबहादुर टोमाटा, रमेशप्रसाद तिवारी, शुभद्राकूमारी लिम्बु रहेका छन् ।
निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै सम्पूर्ण उम्मेदवारहरुको नाबावलि सार्वजानिक गरेसँगै दाबी बिरोध तथा उम्मेदवारी फिर्ताको समय १८ जुलाई बेलुका ५ बजेसम्मलाई तोकेको छ ।