मलेसिया १४ दिन बन्द हुने, मानिसहरु खानेकुरा जोहो गर्ने हत्तारमा

everest kitchen

विपिन राई
मलेसिया । दिनहु सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने भएको छ ।

आजै मात्रै मलेसियाका प्रधानमन्त्री मुयाद्दिन यासिनद्धारा जनताको नाममा सम्बोधन गरी कोरोना भाइरसको महामारीका कारण यस कदम चाल्नु परेको बताए ।
बाहिरी जनजीवन प्रतिबन्धमा सामुहिक भेटघाट, धार्मिक, खेलकुद, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु रहेका छन् भने अन्य ब्यापारीक स्थानहरु पनि बन्द गर्नुपर्नेछ । तर, जनतालाई अत्यावश्यक सामान बेच्ने, पब्लिक मार्केट, औषधि पसल, खाद्यान्न स्टोरहरु भने खुल्ला रहनेछन् ।

त्यसैगरी मलेसिया प्रवेश गर्ने जोकोहीले पनि १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ भने मलेसिया भ्रमण गर्न आउने यात्रु सबैलाई यात्रा प्रतिबन्ध गरिएको छ ।  त्यस्तै बिद्यालयहरु, कलेजहरु लगायत ट्रेनिङ सेन्टरहरु सबै बन्द हुनेछन् । साथमा मलेसियाको सरकारी कार्यालयहरु खानेपानी, बिजुली, सूचना तथा सञ्चार, पोष्ट अफीस, यातायात, तेल, ग्यास, स्वास्थ्य, औषधि पसलहरु, लगायतकाहरु बाहेक अरु बन्द हुनेछन् ।
प्रधानमन्त्रीको यस भाषणसँगै मलेसियामा १४ दिनसम्मको लागी खानेकुरा जोहो गर्नको लागि खाद्यान्न पसल, सुपरमार्केटहरुमा ग्राहकहरुको भिड सुरु भईसकेको छ । कतिपय सुपरमार्केटहरु सामान सकिएर रित्तिन थालेका छन् ।