
मलेसिया । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै मलेसिया स्थित विभिन्न संघ संगठनले भाडादर घटाउन माग गरेका छन् ।
मलेसियामा पुरानो संगठनको रुपमा रहेको “नेपाल आदिवासी जनजाति महासंघ” मलेसिया चार्टर उडानमा भन्दा पनि हालको नियमित उडानको भाडादरको आर्थिक भार बोकेर श्रमिकहरु स्वदेश फर्किन नसक्ने बताएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै भाडादर घटाई आम नेपाली श्रमिकहरुलाई नेपाल जान सहज बनाईदिन हुन सरकार संग अनुरोध गरेको छ ।


त्यस्तै “नेपाली मजदुर एकता समाज” मलेसियाले पनि सुलभ र उचित भाडादर कायम गरि नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तिमा सहज गराइदिन माग गरेको छ ।
संगठनले बिहिवार एक विज्ञप्ति जारी गर्दै नियमित उडानले चार्टर उडान भन्दा पनि सस्तो पर्ने आंकलन गरिएकोमा त्यस्को पनि दोब्बर महङ्गो भाडादर भएको श्रमिकको गुनासो रहेकोले यसलाई छिटोभन्दा छिटो परिवर्तन गरि भाडादर कम गर्न नेपाली राजदुतावास र नेपाल सरकारलाई आग्रह गरेको छ ।
यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले पनि यसअघि नै एक विज्ञप्ति जारी गर्दै नि:शुल्क उद्धारको माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै “वैदेशिक रोजगारीमा मलेसियामा रहेका कामदार र कामबिहिन कामदारलाई स्वदेश फर्कन आर्थिक भार थपिएको र कामबिहिन अलपत्र झन अलपत्र पर्ने भन्दै सरकारको विशेष ध्यानाकर्षण जनाएको थियो ।                                                                                          

 
                










