
रुकुम । रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका २० किसान परिवारलाई उन्नत जातको मुर्रा भैसी हस्तान्तरण गरिएको छ । शनिबार त्रिवेणी गाउँपालिका-८ का दुग्ध व्यवसायमा लागेका किसानहरुलाई गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्काले उक्त भैसीहरु हस्तान्तरण गरेकी हुन ।
पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको एक गाउँ एक पशु उत्पादन योजना अनुसार त्रिवेणी गाउँपालिकाको समन्वयमा उक्त भैसीहरु किसानलाई उपलब्ध गराएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार पशु सेवा कार्यालयको २० लाख र किसानहरुको ७ लाख गरी जम्मा २७ लाख लागतमा भारतको नानपारा भन्ने स्थानबाट ८ वटा पाडासहित २० वटा भैसीहरु खरिद गरि ल्याएको हो ।
किसानलाई अनुदान स्वरुप रकम दिदा रकम उपयोग नहुने र एक्लाएक्लै उन्नत जातको पशु खरिद गरेर ल्याउन पनि सम्भव नहुने भएकाले सामुहिक रुपमा उन्नत जातको पशुहरु गरिद गरेर वितरण गरिएको पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानु शर्माले बताए ।
पशुको स्वास्थ्य अवस्था, जात , उमेर हेरेरमात्रै खरिद गरेर वितरण गरिएको शर्माले बताए । उनका अनुसार ती सम्पुर्ण भैसीहरुको एक लाखसम्मको विमा गरेर वितरण गरिएको हो ।
उन्नत जातको भैसी अनुदानमा पाउने भएपछि निकै खुसी लागेको भैसी लिन आएका त्रिवेणी गाउँपमलिका-८ का किसान पदम खड्काले बताए । तराई तिर यो जातको भैसी राम्रोसँग फस्टाएको देखेको थिएँ “उनले भने,”दुध पनि राम्रो दिन्छ भन्ने सुनेको छु । यहाँ पनि राम्रो हुन्छ भन्ने आशा गरेको उनले बताए । उनका अनुसार उनी कतार र मलेसिया वैदेशिक रोजगारीको लागि गएपनि अव भने गाउँमै खेती किसानमा लागेको बताए । उनको घरमा ४ वटा भैसीहरु रहेकोले विदेश जतिकै आम्दानी गर्न सकेकोसमेत उनलेे बताए ।
त्यस्तै उक्त अनुदानको भैसी लिन आएकी त्रिवेणी -८ कै प्रेम कुमारी खडकाले अनुदानमा उन्नत जातको भैसी पाएपछि निकै सस्तो परेको बताईन । गाउँमा आजभोलि स्थानीय भैसीलाई पनि एक लाख बढी मुल्य पर्नेमा आफुहरुले ३० हजार रुपैयाँका दरले रकम संकलन गरेर उक्त भैसी पाएको उनले बताईन ।
२० वटा भैसीमध्ये ८ वटा पाडोसहितको दुहुनो भैसी र बाँकी १२ वटा लगत्तै बियाउने अवस्थाका भैसीहरु रहेकोमा गोलापर्था अनुसार किसानहरुलाई भैसी वितरण गरिएको त्रिवेणी -८ का वडाअध्यक्ष कर्ण बहादुर खडकाले बताए । लगत्तै थप किसानहरुलाई पनि भैसी उपलब्ध गराउने गरी पहल भएको खड्काले बताए ।











