“जागिर”

everest kitchen

लघुकथा – “जागिर”

बलबहादुर थापा मगर
आन्दोलनकारीहरु उग्र हुँदै गए । सार्वजिक संरचनाहरु तोडफोड गर्न थाले । प्रहरीहरु घाईते भए । प्रहरी कमाण्डरले बल प्रयोगका लागि आदेश माग गरे । स्थिती जटिल बन्दै गयो । आदेश प्राप्त हुन सकेन । उनले स्वःविवेकले बल प्रयोगका लागि निर्देशन दिए । लाठी चार्ज भयो । आन्दोनकारीतर्फ केही व्यक्तीहरु घाईते भए । केहीबेरमा स्थिती सामान्य अवस्थामा आयो ।

प्रहरी कमाण्डरमाथि मानवअधिकारकर्मीहरुले औला उठाए । संचारमाध्यमहरुले प्रहरी कमाण्डरको विवेकपनमाथि खण्डन गरे । माथिल्लो निकायले सामान्य स्थितीमा बल प्रयोग गर्नुपर्ने कारण सहितको स्पष्टिकरण माग गर्यो । प्रहरी कमाण्डरले चर्को दवाव झेल्नुपर्यो । उनलाई कारबाही स्वरुप नोकरीबाट बर्खास्त गरियो ।

जघन्य अपराधमा मुछिएका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि अदालतबाट पक्राउ पुर्जी जारी भयो । आवश्यक तयारीकासाथ प्रहरी टोली पक्राउका लागि खटियो । पक्राउ गर्न प्रहरीलाई हम्मे हम्मे पर्यो । उनका समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुडा गर्न थाले । प्रहरीले स्थिती नियन्त्रणमा लिन सकेन । प्रहरी कमाण्डरले बल प्रयोगका लागि आदेश माग गरे । स्थिती जटिल बन्दै गयो । आदेश प्राप्त हुन सकेन । प्रहरीतर्फ ठुलो मानवीय क्षती हुन पुग्यो । एक प्रहरीले ज्यान गुमाउनुपर्यो । दर्जनौ प्रहरी घाईते हुन पुगे ।
प्रहरी कमाण्डरसंग स्पष्टिकरण माग गरियो । स्वःविवेक प्रयोग गर्न नसकेको भन्दै बिभागीय कारबाहीको फाईल अगाडि बढाईयो । उनलाई कारबाही स्वरुप नोकरीबाट बर्खास्त गरियो ।

दुई फरक घटनाहरुले प्रहरी संगठन भित्र खैला बैला मच्चियो । सबै प्रहरीको मनोबलमाथि नकरात्मक असर पर्यो । प्रत्येक प्रहरीको मुखमा एउटै बाक्य झुण्डिन थाल्यो – “थुईक्क ! जागिर ।” (बागलुङ न.पा. -१०, भकुण्डे अर्भक)