निर्वाचन लक्षित सुरक्षा रणनीति तयार

everest kitchen

गलेश्वर । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ । जिल्लास्थित सुरक्षा निकायको समन्वयमा म्याग्दीका ७४ मतदानस्थल र ११४ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि,मतदान रमतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना तयार भएको हो ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको म्यादीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरी निर्वाचन हुने ठाउँ–ठाउँमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसँग पुग्ने तयारी भएको उहाँको भनाइ छ ।

निर्वाचनलाई शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारीरूपमा कार्यन्वयन गरिएको प्रजिअ रानाले बताउनुभयो ।

निर्वाचन लक्ष्य गरेर म्यादी प्रहरी ६१९, नेपाल प्रहरी ३८०, सशस्त्र प्रहरी २०६, नेपाली सेना २३२ परिचालन हुने प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा निर्वाचनका लागि कायम भएका ७४ मतदानस्थलमा मुख्य सुरक्षाको भूमिकामा नेपाल प्रहरी, म्यादी प्रहरी र दोस्रोमा सशस्त्र प्रहरी तथा बाहिरी घेरामा नेपाली सेना रहने छन् ।

मतदानपूर्व, मतदान र मतदानपछिको तीन चरणमा सुरक्षा रणनीति तयार गरिएको छ । प्रमुख जिल्ला अधिकारी रानाको नेतृत्वमा निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा तयारी, मतदानस्थल अनुगमन, सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षाकर्मी परिचालन योजना तयार गरिएको प्रनाउ भारतीले बताउनुभयो । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदानस्थलमा सुरक्षाकर्मी खटिसक्ने छन् ।

यसपालिको स्थानीय तह चुनाव बहिष्कार गर्ने समूह छैनन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ ।चुनाव प्रचार र मौन अवधिमा आचारसंहिता उल्लङ्घन हुँदाको अवस्थालाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ ।

धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाको जनकल्याण माविको मतदान केन्द्रमा यातायात सुविधा पुगेको छैन । रघुगङ्गा गाउँपालिकाको वडानं ८ ध्याँसीखर्कमा सञ्चार सुविधा छैन । दुर्गम र विकट ठाउँको मतदानस्थलबाट मतपेटिका मतगणनास्थलसम्म ढुवानी गर्न सुरक्षा समितिले हेलिकोप्टरको प्रस्ताव गरेको छ ।

छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ११४ मतदान केन्द्र छन् । जिल्लामा कूल ८५ हजार ३७५ मतदाता छन् । तीमध्ये ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी छन् । २३७ पदका लागि हुने निर्वाचनमा ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।