दक्षिण कोरियाले विदेशी कामदारहरूहरूलाई लक्षित गर्दै नयाँ भिसा कार्यक्रम सुरु गर्‍यो, स्थायी बसोबासको सुविधा प्राप्त गर्न सकिने

everest kitchen

सोल, दक्षिण कोरिया — प्रविधि क्षेत्रमा दक्षता राख्ने विदेशी कामदारहरूका लागि दक्षिण कोरियाले नयाँ अवसरको ढोका खोलेको छ। कोरियाली सरकारले हालै “टप-टियर भिसा कार्यक्रम” सुरु गरेको घोषणा गरेको छ, जसअन्तर्गत योग्य विदेशी कामदारहरूलाई F-2 रेसिडेन्ट भिसा दिइनेछ र तीन वर्षपछि स्थायी बसोबास (पर्मानेन्ट रेसिडेन्सी) को सुविधा प्राप्त गर्न सकिनेछ।

नयाँ भिसा कार्यक्रमको उद्देश्य सेमिकन्डक्टर, बायोटेक्नोलोजी, सेकेन्डरी ब्याट्री, डिस्प्ले जस्ता उच्च प्रविधि उद्योगहरूमा कार्यरत दक्ष जनशक्ति भित्र्याउनु रहेको छ। सरकारले स्पष्ट पारेको छ कि विश्वका शीर्ष १०० विश्वविद्यालयहरूबाट मास्टर वा पिएचडी डिग्री हासिल गरेका, र विश्वस्तरीय कम्पनी वा अनुसन्धान संस्थामा कार्य अनुभव भएका व्यक्तिहरूले मात्र यो भिसाको लागि आवेदन दिन सक्नेछन्।

भविष्यमा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनपछि शीर्ष २०० विश्वविद्यालयबाट स्नातक डिग्री (ब्याचलर) हासिल गरेका व्यक्तिहरूलाई समेत समावेश गर्ने सम्भावना रहेको बताइएको छ।

भिसा प्राप्त गर्ने विदेशी कामदारहरूले कोरियाली कम्पनीसँग रोजगारी सम्झौता गर्नुपर्नेछ। त्यस्तै, उनीहरूको वार्षिक आम्दानी कोरियाको प्रतिव्यक्ति GNI को कम्तीमा ३ गुणा (करीब KRW 149.865 मिलियन) हुनुपर्नेछ। यदि आम्दानी ४ गुणा (KRW 199.82 मिलियन) वा बढी भएमा, शैक्षिक योग्यता वा अनुभवसम्बन्धी केही शर्तहरूमा छुट दिइनेछ।

F-2 भिसाका लागि आवेदन कोरियाको अध्यागमन कार्यालयहरू वा न्याय मन्त्रालयको आधिकारिक वेबसाइटबाट दिन सकिन्छ। सफल आवेदकहरूले आफ्ना परिवारजनहरूलाई पनि साथ ल्याउने, र इमिग्रेशन VIP कार्ड पाउने सुविधा प्राप्त गर्न सक्नेछन्, जसबाट छिटो अध्यागमन प्रक्रिया र प्राथमिकता सुरक्षाको व्यवस्था मिल्नेछ।

यो कार्यक्रम अन्तर्गत आउने दक्ष विदेशीहरूलाई कोरियामा स्वतन्त्र रूपमा आर्थिक गतिविधि सञ्चालन गर्ने छुट दिइनेछ र उनीहरूले तीन वर्षपछि स्थायी बसोबासको अनुमति पाउनेछन्।

दक्षिण कोरियाको प्रमुख विश्वविद्यालयहरूमा सोल नेशनल युनिभर्सिटी (३१औं स्थान), KAIST (५३औं), योन्सेई युनिभर्सिटी (५६औं), कोरिया युनिभर्सिटी (६७औं) र पोहाँग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (९८औं) परेका छन्। त्यस्तै, फोर्ब्स ग्लोबल 2000 मा सूचीकृत प्रमुख कोरियाली कम्पनीहरूमा Samsung Electronics, Hyundai Motor, Kia Motors लगायत छन्।

दक्षिण कोरियाको यो नयाँ पहलले प्रविधिमा विश्वको नेतृत्वदायी भूमिका खेल्ने उद्देश्यसहित उच्चस्तरीय विदेशी जनशक्ति भित्र्याउने योजना बनाएको छ।