क्वालालम्पुर अध्यागमन विभागद्धारा नेपाली सहित अन्य अवैध आप्रवासीहरू पक्राउ

everest kitchen

क्वालालम्पुर, मलेसिया । क्वालालम्पुर अध्यागमन विभागले गए राति गरेको विशेष अपरेसनका क्रममा जलान क्लाङ लामास्थित फुड कोर्ट र बुकित बिन्ताङको मसाज पार्लर फरकफरक ठाउबाट ६४ जना अवैध आप्रवासीहरू पक्राउ परेका छन् ।

पक्राउ परेका आप्रवासीहरूको उमेर १८ देखि ६० वर्षसम्मको छ र उनीहरू इन्डोनेसिया, म्यानमार, पाकिस्तान, बंगलादेश र नेपालका नागरिक रहेका छन् ।

पक्राउ परेका सबै आप्रवासीहरू अध्यागमन ऐन अन्तर्गतका विभिन्न अभियोगहरूमा संलग्न रहेको, उनीहरुसँग वैध कागजात नभएको, भिषाको म्याद नाघी बसेको र भिसा दुरुपयो गरेको जानकारी अध्यागमन विभागका उपमहानिर्देशक जाफ्री एमबोक ताहाले दिएका छन्। ताहाका अनुसार पक्राउ परिएका सबैलाई थप अनुसन्धानका लागि बुकित जलिल अध्यागमन थुनागृहमा पठाइएको छ।

ताहाले जलान क्लाङ लामास्थित फुड कोर्ट र बुकित बिन्ताङको मसाज पार्लरको रोजगारदाताहरूलाई कानुनको पालना गर्न र वैध कागजात भएका विदेशी कामदार मात्र राख्न आग्रह गरेका छन्। ‘विशेष गरी मलेसियन नागरिकहरू, जसले अवैध विदेशी कामदारहरूलाई संरक्षण वा रोजगार दिन्छन्, उनीहरूलाई मुख्य रूपमा कारवाही गरिनेछ,’ उनले चेतावनी दिए।

उक्त अपरेसन ५५ जना अधिकारीहरूको टोलीले दुई हप्तासम्मको गोप्य अनुसन्धानपछि सञ्चालन गरेको हो।