मुम्बई, २९ बैशाख । बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको छैन्।
यसैबिच, उनी बहुप्रतिक्षित वेब सिरिज ‘फर्जी’ को सिक्वेलमा काम गर्न लागिरहेका छन । यो सिरिजका लागि शाहिदले आफ्नो करियरमा सबैभन्दा बढी पारिश्रमिक लिइरहेका छन् ।
शाहिदले २०२३ मा प्राइम भिडियोको हिट सिरिज ‘फर्जी’ बाट डिजिटल डेब्यू गरेका थिए। अब पनि फेरी उनी ‘फर्जी २’ मा आफ्नो पुरानो र हिट चरित्रमा देखिने भएका छन् । राज र डीकेले श्रृंखलालाई फेरि पनि निर्देशन गर्दैछन् ।
पिंकभिलाको रिपोर्ट अनुसार शाहिद कपुरले दोस्रो सिजनको लागि ४५ करोड भारु ठुलो पारिश्रमिक लिएका छन । जसअनुसार यो पारिश्रमिक उनको करियरकै अहिले सम्मकै ठूलो शुल्क हो। शाहिदले सामान्यतया एउटा फिल्मका लागि २५ देखि ३० करोड रुपैयाँ लिइरहेको बेला उनले एक्कासी पारिश्रमिक शुल्क बढाएका हुन् ।
रिपोर्टमा यो पनि भनिएको छ कि ‘फर्जी २’ को छायांकन २०२५ को अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ। हाल राज र डीके आफ्नो आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’ को सुटिङमा व्यस्त छन्। अहिलेको यो प्रतिबद्धता पूरा गरेपछि उनले ‘फर्जी २’ को प्रि–प्रोडक्सन सुरु गर्ने छन् ।
स्रोतका अनुसार ‘फर्जी २’ को मुख्य कथालाई लिएर शाहिद कपुरसँग यसअघि नै चर्चा भइसकेको थियो । दोस्रो सिजनमा शाहिद कपूर, विजय सेतुपति र के के मेनन बीचको उच्च दाउको भिडन्त हुनेछ, जसले अपराध–थ्रिलर श्रृंखलाको तीव्रतालाई अझ बढाउँछ। ‘फर्जी २’ आगामी वर्षको अन्त्यसम्ममा रिलिज हुने जनाइएको छ ।
शोको पहिलो सिजनमा विजय सेतुपति, राशि खन्ना, भुवन अरोरा र काव्या थापरले पनि महत्त्वपूर्ण भूमिकामा देखिएका थिए ।