जापानमा दक्ष विदेशी कामदारले विभिन्न समस्याहरूको सामना गर्दै

everest kitchen

काठमाडौंँ । जापानमा काम गर्न गएका दक्ष विदेशी कामदारहरूले विभिन्न समस्याहरूको सामना गरिरहेको एनएचकेले जनाएको छ । अत्यधिक कामको बोझ, भाषा तथा सञ्चारको कठिनाइ, न्यून तलब, अनुचित व्यवहार, र स्थायी बसोबासको अवसर नपाउनुजस्ता समस्याहरू प्रमुख रूपमा देखिएका छन्।

विगत केही वर्षदेखि श्रमशक्ति अभाव झेलिरहेको जापानले दक्ष विदेशी श्रमिकहरूलाई भित्र्याउने नीति अपनाएको भए पनि तिनीहरूको उचित व्यवस्थापन तथा अधिकारको रक्षा गर्न अझै पर्याप्त पहल हुन सकेको छैन। केही कामदारहरूले तलब कटौती, जबरजस्ती ओभरटाइम, तथा अपमानजनक व्यवहारको आरोप समेत लगाएका छन्।

भाषाको अवरोधका कारण कामदारहरू आफ्ना अधिकार तथा कानुनी सहायताबारे जानकारी पाउन नसक्ने अवस्था छ। साथै, दीर्घकालीन बसोबास तथा परिवार ल्याउने अधिकारसम्बन्धी स्पष्ट नीतिको अभावले पनि उनीहरू असन्तुष्ट छन्।

मानव अधिकारवादी र सम्बन्धित संघसंस्थाहरूले जापान सरकारसँग आप्रवासी कामदारहरूको अधिकार सुनिश्चित गर्ने कानुनी सुधार तथा निगरानी प्रणाली सुदृढ गर्न आग्रह गरिरहेका छन्।