हुम्ला, ५ जेठ । हुम्लामा हिमताल फुटेको छ।
हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोले बस्ति नै जोखिममा परेको छ । हिमताल फुटेर पहिरो गए पनि सो स्थानमा सरकारको उपस्थिति नभएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन गम्भीर बनाएको छ,’ उनले भनेको छन, ‘तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई उनले निर्देशन पनि दिएका छन ।
उनले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको बैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन ।