क्वालालम्पुर । मलेसियाको अध्यागमन विभागले गत शनिवार बिहानै एक मनोरञ्जन केन्द्रमा गरिएको ‘ओप गेगार’ नामक अपरेशनमा १० जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ। उक्त केन्द्रमा बलिउड शैलीको नाचगान कार्यक्रम प्रस्तुत गरिन्थ्यो।
क्वालालम्पुर अध्यागमन निर्देशक वान मोहम्मद सौपी वान युसोफका अनुसार राति १२ः४५ बजे सुरु गरिएको छापाको क्रममा नेपाल, बंगलादेश र पाकिस्तानका ८ पुरुष र २ महिलालाई नियन्त्रणमा लिइएको हो। उनीहरू कर्मचारी र ग्राहकको रूपमा त्यहाँ रहेका थिए र उमेर २० देखि ४० वर्षबीचका छन्।
उनका अनुसार उक्त मनोरञ्जन केन्द्रको प्रवेशद्वारमा कडा सुरक्षा व्यवस्था थियो र यो केन्द्र विशेषगरी दक्षिण एशियाली देशका नागरिकहरूका लागि मात्र खुला थियो।
यसैबीच, विभागले ‘ओप सेलेरा’ नामक अर्को अपरेशनमार्फत संघीय राजधानीका तीन वटा रेस्टुरेन्टहरूमा छापा मार्दा थप २५ जना विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिएको छ, जसमा दुई जना बालबालिका पनि छन्। पक्राउ पर्नेहरूमा भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड र इन्डोनेशियाका १८ पुरुष र ७ महिला छन्, जसको उमेर ५० देखि ६० वर्षसम्मको छ।
वान मोहम्मद सौपीका अनुसार दुवै अपरेशनमा पक्राउ परेका सबै विदेशी नागरिकलाई आवश्यक कागजात प्रक्रिया तथा थप अनुसन्धानका लागि बुकित जलिल अध्यागमन डिपोमा पठाइएको छ।