क्वालालम्पुर । क्वालालम्पुरको एक सपिङ मलमा दिउँसो २:३० बजे सुरु भएको छापामार कारबाहीमा मलेसियाको आप्रवासन विभागले १४३ आप्रवासीलाई विभिन्न आप्रवासन अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।
विभागले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिअनुसार, यो अपरेशन उप-महानिर्देशक (अपरेसन) जाफ्री एम्बोक ताहा नेतृत्वमा सञ्चालन गरिएको थियो। छापामा पुतराजायास्थित केन्द्रीय मुख्यालयका १०६ जना अधिकारी तथा कर्मचारी सहभागी थिए।
कुल ९६४ जनालाई जाँच गरिँदा २२ देखि ४८ वर्ष उमेर समूहका विदेशीहरूबाट वैध कागजात नदेखाएको, अवैध रूपमा बसोबास गरेको, पासको सर्त उल्लंघन गरेको, र नचिनिने पहिचानपत्र प्रयोग गरेको पाइएको थियो।
पक्राउ परेका व्यक्तिहरू इन्डोनेसिया, पाकिस्तान, बंगलादेश, भारत, म्यानमार, सिरिया, नेपाल, अफगानिस्तान र चीनका नागरिक रहेका छन्। सबैलाई थप अनुसन्धानका लागि आप्रवासन डिटेन्सन डिपोमा सारिएको छ।
विभागले यस्ता नियमित अपरेशन जारी रहने बताएको छ र मलेसियाको आप्रवासन ऐन उल्लंघन गर्ने विदेशी नागरिकहरूलाई पक्रन, अभियोग चलाउन र देश निकाला गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
साथै, विभागले अवैध आप्रवासीलाई रोजगार दिने, लुकाउने वा आश्रय दिने नियोक्ताहरूलाई आप्रवासन ऐन १९५९/६३ र मानव बेचबिखन तथा आप्रवासी तस्करीविरुद्धको ऐन २००७ (Atipsom) अन्तर्गत कारबाही गरिने चेतावनी दिएको छ।