क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको हवाई टिकट सहयोगमा रामेछाप जिल्ला सुनापाति गाउँपालिका–४, बेथान निवासी कमल तामाङ नेपाल फर्किएका छन्।
तामाङ १५ महिना अघि मलेसियामा अध्यागमनको छापामा परेर जेलमा रहेका थिए। नेपाली राजदूतावास, मलेसियाले लामो समयदेखि परिवार सम्पर्कमा ल्याउन प्रयास गर्दै आएको भए पनि उहाँले गलत ठेगाना दिएको कारणले परिवारको पहिचान र सम्पर्क गर्न कठिनाइ भएको थियो।
नेपाली दूतावास र प्रवासी नेपाली समन्वय समितिको विशेष अनुरोधमा नेपाल तामाङ घेदुङ मलेसियाले तामाङको सही घरपरिवार पहिचान गरी खोजी कार्य सम्पन्न गरेको थियो। त्यसपछि आवश्यक कागजी प्रक्रिया पुरा गर्दै हवाई टिकटको व्यवस्था गरी कमल तामाङलाई नेपाल फर्काउने कार्य सफलतापूर्वक सम्पन्न भएको हो।
यस कार्यमा संलग्न सबै निकायहरू — नेपाली राजदूतावास, प्रवासी नेपाली समन्वय समिति र नेपाल तामाङ घेदुङ मलेसिया — ले सहयोग, समन्वय र मानवियतामा आधारित पहल प्रस्तुत गर्दै एउटा पीडित नेपालीलाई स्वदेश फर्काउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।