क्वालालम्पुर । नेपाल थामी समाज मलेसियाले आउँदो सन् २०२५ जुन ८ (आइतबार)को दिन प्रथम ऐतिहासिक प्रवास भेला तथा उभौली भुम्या पूजा–२०२५ आयोजना गर्ने घोषणा गरेको छ।
संस्थाका अनुसार कार्यक्रम जोहर बाहारुको लार्किनस्थित एनआरएनएको कार्यालयमा आयोजना हुनेछ। सो ऐतिहासिक कार्यक्रममा मलेसियामा रहनु भएका थामी दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण किराँत समुदायका सदस्यहरू र अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई भव्य बनाइदिन आयोजकले हार्दिक आग्रह गरेका छन्।
नेपाल थामी समाज मलेसियाका अनुसार, यो कार्यक्रम थामी भाषा, धर्म, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदैछ। कार्यक्रममा सहभागिताका लागि थामी किराती परम्परागत पोशाक वा सांस्कृतिक पहिचान झल्किने पोशाक लगाउन आयोजकले अनुरोध गरेका छन्।
समाजले यस ऐतिहासिक भेलाले मौलिक अस्तित्व संरक्षणमा योगदान दिने, आपसी सहकार्य र एकता मजबुत बनाउने तथा आगामी रणनीतिहरू तय गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमले प्रवासमा रहेर पनि आफ्नो पहिचान र संस्कृतिप्रति गर्व र सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।