क्वालालम्पुर, मलेसिया । नेपालबाट मलेसिया पुगेका २५ जना साना तथा मझौला उद्यमीहरूले मलेसियामा आफ्ना उत्पादनहरूको बजार सम्भावनाको खोजीका क्रममा पहिलो दिन क्वालालम्पुरस्थित नेपाली राजदूतावाससँग भेटघाट तथा छलफल गरेका छन्।
यस अवसरमा विशेष रूपमा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू, मह र महबाट बनेका साबुन, ढाकाका कपडाहरू, रेशमका टोपी तथा सलहरू, टिमुरको छोप, मलमलका कपडाहरू, नेपाली खुकुरी लगायतका वस्तुहरू मलेसियामा आयोजना हुने व्यापारिक प्रदर्शनिमा राख्नका लागि सहयोगको अनुरोध गरिएको थियो।
उक्त अनुरोधलाई राजदूतावासले सहर्ष स्वीकार गरेको छ। महामहिम राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले नेपाली उत्पादनका यस्ता अनौठा र मौलिक नमुनाहरू दूतावासमार्फत प्रवर्द्धन गर्न सकिने जनाउँदै, यस्ता वस्तुहरू अझ बढी मात्रामा उपलव्ध गराउन उद्यमीहरूलाई आग्रह गरे।
राजदूत डा. तिम्सिनाले नेपाली साना तथा मझौला उद्यमीहरूद्वारा निर्मित वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा चिनाउने काममा राजदूतावासले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
यस अन्तरक्रिया कार्यक्रमले मलेसियामा रहेका नेपाली उत्पादनहरूको बजार विस्तारमा टेवा पुर्याउने र दुवै देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउने अपेक्षा गरिएको छ।