काठमाडौं — परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको छ। यस सम्बन्धमा मन्त्रालयले बिहीबार विश्वभर रहेका सबै नेपाली दूतावासलाई सर्कुलर पठाएर श्रेष्ठ नेतृत्वको कार्यसमितिसँग सहकार्य गर्न निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत सृजना कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ कि सर्वोच्च अदालतको आदेशअनुसार सम्पन्न एकता महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्वाचित भई वैशाख ३० गते परराष्ट्र मन्त्रालयलाई सूचना दिएको उल्लेख गरिएको छ। सो पत्रसँगै विदेशस्थित नेपाली दूतावासहरूले उक्त कार्यसमितिलाई सरकारी कार्यक्रम तथा गतिविधिमा आधिकारिकता दिनुपर्ने पनि भनिएको छ।
यसअघि सचिवालय कब्जा गर्दै आएको बद्री केसी समूहलाई परराष्ट्र मन्त्रालयको यो निर्णयले ठूलो झटका लागेको बताइएको छ। श्रेष्ठ पक्षका प्रवक्ता गंगाधर गौतमले पनि वैशाख ३० मा विश्वभरका कूटनीतिक नियोगहरूलाई कार्यसमितिसँग सहकार्य गर्न अनुरोध पत्र पठाइसकेको जानकारी दिएका छन्।
प्रवक्ता गौतमले जारी गरेको विज्ञप्तिमा संसारभरका एनसीसीहरूलाई भ्रममा नपर्न आग्रह गर्दै आईसीसीसँग समन्वय गरी संस्थागत हितका लागि काम गर्न समेत अनुरोध गरेका छन्। यसैगरी, अध्यक्ष श्रेष्ठले पनि परराष्ट्र मन्त्रालयको यस निर्णयको स्वागत गरेका छन्।