सउल, कोरिया । कोरियाका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनका लागि आउन चाहने वा आइपुगेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै सउलस्थित नेपाली राजदूतावासले एक विस्तृत सचेतनामूलक सूचना प्रकाशित गरेको छ। राजदूतावासले विद्यार्थीहरू तथा अभिभावकहरूलाई अध्ययन, बसोबास, आर्थिक तयारी, स्वास्थ्य बीमा, कानुनी नियम, र संभावित जोखिमबारे पूर्व तयारी गर्न आग्रह गरेको छ।
सूचनामा भनिएको छ कि विद्यार्थीहरूले कोरिया आउनुअघि आफू पढ्ने कलेज वा विश्वविद्यालयको गुणस्तर, शैक्षिक शुल्क, बसोबास र हावापानी लगायतका विषयमा अध्ययन गरी आवश्यक तयारी गर्नुपर्दछ। डेरा खोज्दा वा शैक्षिक शुल्क बुझाउँदा विश्वसनीयता सुनिश्चित गरी मात्र निर्णय लिनु पर्ने उल्लेख गरिएको छ।
कोरियामा अध्ययन गर्दै आयसाथै रोजगारी पाउने आशमा आएका कतिपय विद्यार्थीहरू कानुनी जटिलतामा परेकाले विद्यार्थी र अभिभावक दुवैले यथार्थपरक सोच राख्नुपर्छ भन्ने उल्लेख छ। राजदूतावासले अवैध काम वा ट्राफिक नियम उल्लंघनका कारण नेपाली विद्यार्थीहरू जरिवाना तिर्न बाध्य भएका वा देशनिकाला भएका उदाहरणसमेत उल्लेख गरेको छ।
राजदूतावासले शैक्षिक परामर्शदाता संस्थाहरूलाई पनि विद्यार्थीको भलाइको पक्षमा यथार्थपरक र सत्य सूचना दिन आग्रह गरेको छ। साथसाथै, पढ्न चाहिने विश्वविद्यालयको Rank, Credit Hours, र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सहभागिता बारेमा पनि गहिरो अनुसन्धान गर्न सुझाएको छ।
विद्यार्थीहरूले आफूलाई पर्ने कुनैपनि समस्याको समाधानका लागि आफ्नो कलेजको अन्तर्राष्ट्रिय विद्यार्थी सेवा केन्द्र, SONSIK, नेपाली समुदाय, वा नेपाली राजदूतावाससँग सम्पर्क गर्न सक्ने उल्लेख छ।
राजदूतावासले अन्त्यमा सबै विद्यार्थी र अभिभावकहरूलाई पूर्वतयारीसहित सचेत भई कोरियामा आउन विशेष आग्रह गरेको छ।