पेटालिङ जाया, मलेसिया – बान्दर सन्वेस्थित एक अपार्टमेन्ट कम्प्लेक्समा आप्रवासन विभागले सञ्चालन गरेको छापामारीका क्रममा एक अवैध आप्रवासी आफूलाई स्थानीय नागरिकको रूपमा चिनाएर पक्राउबाट जोगिन खोज्दा पोल खुलेको छ। उनलाई राष्ट्रिय गान ‘नेगराकु’ गाउन भनिएको थियो, तर गाउन नसकेपछि उनको वास्तविकता सार्वजनिक भयो।
ती करिब ३० वर्षका पुरुष ५९७ अवैध आप्रवासीमध्येका एक हुन्, जो विभिन्न आप्रवासन अपराधमा पक्राउ परेका छन्। यो छापामारी राति ९ बजे सुरु भई १,५९७ विदेशीहरूमाथि गरिएको जाँचपछि सम्पन्न भएको हो।
आप्रवासन विभागका उप-महानिर्देशक (सञ्चालन) जाफ्री एम्बोक ताहा अनुसार, सो व्यापक अपरेशनमा १३९ आप्रवासन कर्मचारी, २०० जना जनरल अपरेशन्स फोर्सका सदस्य, पेटालिङ जाया नगर परिषद्का ४० कर्मचारी, राष्ट्रिय दर्ता विभागका ६ अधिकारी र नागरिक सुरक्षा बलका ५ जना कर्मचारी संलग्न थिए।
पक्राउ परेकामध्ये ४७२ पुरुष र १२५ महिला छन्, जसको उमेर ११ देखि ५९ वर्षसम्म रहेको छ। केही विदेशीले त सुरक्षाकर्मीबाट उम्कन पाँचौं तलाबाट हाम फाल्ने प्रयास गरेका थिए, तर सतर्क सुरक्षाकर्मीले उनीहरूलाई समयमै नियन्त्रणमा लिएका थिए।
छानबिनमा पाइएकोअनुसार, उनीहरू विभिन्न आप्रवासन ऐन, पासपोर्ट ऐन तथा सम्बन्धित नियमहरूको उल्लंघनमा संलग्न थिए। धेरैजसो व्यक्तिसँग कुनै कागजात थिएन, केहीको भिसा म्याद सकिएको थियो भने केहीले नक्कली वा मान्यता नभएका कार्ड बोकेका थिए।
सबै पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि सेमेनीयह आप्रवासन थुनुवा केन्द्रमा लगिएको छ।
जाफ्रीले थप बताएअनुसार केही स्थानीय बासिन्दाले आफ्ना अपार्टमेन्ट युनिटहरू अवैध आप्रवासीलाई भाडामा दिएका थिए। “एक युनिटको भाडा RM1,100 देखि RM1,300 सम्म लिएको पाइएको छ। केही युनिटहरूमा विभाजन गरेर कोठा-कोठामा छुट्याई एक कोठाको भाडा RM280 सम्म लिइएको देखिएको छ,” उनले बताए।
सरकारले यस्ता गतिविधिमा संलग्न विदेशी र उनीहरूलाई सहयोग गर्ने स्थानीय नागरिकविरुद्ध कडा कारबाही गर्ने बताएको छ।