सियोल, दक्षिण कोरिया — हालसालै विभिन्न रेमिट्यान्स कम्पनी तथा वित्तीय संस्थाहरूको नक्कली फेसबुक आइडी बनाई ग्राहकहरूसँग व्यक्तिगत विवरण झिकेर अनलाइन ठगी गर्ने घटनाहरू बढ्दै गएकाले नेपाल राजदूतावास सियोलले सबै नेपालीहरूलाई अत्यधिक सतर्क रहन आग्रह गरेको छ।
राजदूतावासले जारी गरेको अपिलमा भनिएको छ, “अनलाइन ठगी गर्ने व्यक्तिहरूले विश्वास दिलाउने किसिमले नक्कली अकाउन्टमार्फत तपाईंहरूको पासवर्ड, ओटीपी (OTP), फोन नम्बर, इमेल ठेगाना जस्ता संवेदनशील व्यक्तिगत जानकारी माग्ने गरेका छन्। यस्ता सूचना कसैलाई पनि नदिनुहोस्।”
राजदूतावासले सबै नेपालीलाई निम्न कुराहरूमा विशेष ध्यान दिन आग्रह गरेको छ:
-
कुनै पनि नक्कली फेसबुक पेज वा म्यासेजमार्फत मागिएको व्यक्तिगत जानकारी नदिनुहोस्।
-
आफ्नो पासवर्ड र OTP अरू कसैसँग शेयर नगर्नुहोस्।
-
शंकास्पद म्यासेज आएमा तुरुन्त सम्बन्धित संस्थालाई सम्पर्क गर्नुहोस्।
-
अनलाइन कारोबार गर्दा आधिकारिक वेबसाइट वा एप मात्र प्रयोग गर्नुहोस्।
राजदूतावासले सबै नेपाली समुदायलाई अनलाइन ठगीबाट सुरक्षित रहन सचेत रहन पुनः हार्दिक अपिल गरेको छ। यदि कसैलाई यस्ता गतिविधिबाट क्षति भएको छ भने सम्बन्धित निकायमा उजुरी गर्न समेत अनुरोध गरिएको छ।