एडिलेड, अष्ट्रेलिया | मे ३०, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलिया राज्य समितिको आगामी कार्यकाल (२०२५–२०२७) का लागि गणेश प्रसाद पराजुलीले संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अभियानमा विगत एक दशकभन्दा बढी सक्रिय रहेका पराजुली हाल (२०२३–२०२५) कार्यकालका लागि सचिव पदमा कार्यरत छन्।
सचिवको रूपमा कार्यरत रहँदा पराजुलीले नेपाली समुदायसँग नजिकको समन्वय, सामाजिक र सांस्कृतिक अभियानमा सशक्त सहभागिता, तथा आपतकालीन सेवाको समन्वयनमार्फत समुदायको विश्वास जित्न सफल भएका थिए।
दीर्घकालीन सोचसहितको उम्मेदवारी
संयोजक पदका लागि उम्मेदवारी घोषणा गर्दै पराजुलीले भने, “मेरो अभियानको मूल उद्देश्य व्यक्तिगत आकांक्षा होइन, सामूहिक समृद्धि र संस्थागत निरन्तरताको अभियान हो। म एनआरएनएलाई अझ पारदर्शी, समावेशी र विश्वसनीय संस्था बनाउने प्रतिबद्धता लिएको छु।”
उनले नेपाली संस्कृति, भाषा, कला र परम्पराको जगेर्ना, नयाँ पुस्तालाई नेपालीपनसँग जोड्ने बालमैत्री कार्यक्रम, तथा एडिलेडस्थित सम्पूर्ण संघ–संस्थासँग सद्भाव र सहकार्यमा आधारित सहकार्य प्रणाली विकास गर्ने योजना अघि सारेका छन्।
नयाँ अवधारणा : नेपाली सांस्कृतिक भवन
पराजुलीको घोषणामा उल्लेखनीय कुरा भनेको नेपाली सांस्कृतिक भवन स्थापनाको अवधारणा हो, जसले नेपाली पर्व, धर्म, भाषा र परम्पराको संस्थागत संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रवासी सेवामा केन्द्रित कार्यक्रम
उनले नयाँ आगन्तुक, विद्यार्थी र समस्यामा परेका नेपालीहरूलाई लक्षित गर्दै सहज सेवा पहुँच, सहयोगी वातावरण र आपतकालीन प्रतिक्रिया प्रणाली सुदृढ बनाउने तयारी रहेको जानकारी दिएका छन्।
आह्वान
“यो मेरो मात्र अभियान होइन, हामी सबैको साझा सपना हो – जहाँ हामी नेपालीहरू एकतामा बाँधिएर, संस्कारसहितको समाज निर्माणमा अग्रसर हुन्छौं,” उनले भने।
उक्त उम्मेदवारीसँगै दक्षिण अष्ट्रेलियाको एनआरएनए निर्वाचन प्रक्रियामा सरगर्मी बढ्ने संकेत देखिएको छ।