मोरङ, बेलबारी – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापान) को सहयोगमा बेलबारी नगरपालिका–३ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ का न्यून आयस्तर भएका र जेहेन्दार विद्यार्थीहरूलाई ५५ थान विद्यालय झोला वितरण गरिएको छ।
संघको बालुवाटारस्थित आयोजित कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष डा. बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरु औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो। यस सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।
विद्यालयका अनुसार, आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण रहेको छ। वितरण गरिएका झोलाहरू विद्यालयमार्फत स्थानीय तहमा विद्यार्थीहरू माझ पुर्याइनेछ।
एनसीसी जापानले आफ्नो ‘वान एनसीसी वान च्यारिटी’ परियोजना अन्तर्गत यो सहयोग प्रदान गरेको हो।