लिस्बन, मे ३० — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले जुन ८ तारिखमा अधिवेशन हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै भ्रमपूर्ण र अवैधानिक गतिविधिको खण्डन गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै भनिएको छ, “गैरआवसीय नेपाली संघ, पोर्चुगल सन् २००६ मा पोर्चुगलको स्थानीय कानुनअनुसार दर्ता भएर संचालित सबैभन्दा पुरानो वैधानिक संस्था हो।” संघले प्रत्येक दुई वर्षमा महाधिवेशन गर्दै आएकोमा सन् २०२५ को जुलाई २० (आइतबार) का दिन लिस्बनमा १०औं महाधिवेशन आयोजना गर्ने निर्णय भइसकेको उल्लेख गरिएको छ।
संघले हालै केन्द्रीय कार्यालयको MIS प्रणालीमार्फत SMART NRNA एप प्रयोग गरी सदस्यता वितरण तथा नवीकरण कार्य भइरहेको जनाएको छ र सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई यही विधिबाट सदस्यता लिन हार्दिक आग्रह गरेको छ।
विज्ञप्तिमा उल्लेख छ कि, “जुन ८ तारिखमा अधिवेशन हुँदैछ” भन्दै केही व्यक्तिहरुले संघको लेटरप्याड र लोगोको दुरुपयोग गर्दै संविधान विपरीत प्रचारप्रसार गरिरहेका छन्, जसप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ।
संघले स्पष्ट पारेको छ, “जुलाई २० भन्दा अगाडि कुनै पनि अधिवेशन संघको तर्फबाट हुने छैन,” र यस्तो गलत मनसायसहितको प्रचारलाई नेपाली समाजमा विखण्डन ल्याउने प्रयास भएको भन्दै कडा शब्दमा भत्सर्ना र निन्दा गरेको छ।
संघले नेपाली समुदायलाई यस्ता भ्रम फैलाउने गुट र तत्वप्रति सचेत रहन आग्रह गर्दै आगामी महाधिवेशनलाई भव्य र सफल बनाउन सम्पूर्ण संघ–संस्था, सामाजिक अगुवा, सञ्चारकर्मी, व्यवसायी, खेलाडी तथा सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भई सहभागी हुन आह्वान गरेको छ।