एनआरएनए कुवेत फुटको संघारमा, एकताको प्रयासस्वरूप समन्वय समिति गठन

everest kitchen

कुवेत, जुन ३० — हालै गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमा देखिएको विवाद र गुटबन्दीको प्रभाव अब एनआरएनए कुवेतमा समेत देखिन थालेको छ। दुई एनआरएनए बनाउने प्रयाससम्म पुगिएको अवस्थामा, कुवेतको नेपाली समुदायलाई विखण्डनबाट जोगाउन एनसीसी कुवेतले तीन सदस्यीय समन्वय समिति गठन गरेको छ।

गत जुन २९, विहीबार, कुवेतको फर्वानियास्थित डाम्पा चौतारीमा अध्यक्ष रणध्वोज लामाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। नवगठित समन्वय समितिको संयोजकमा संस्थापक अध्यक्ष राजेन्द्र तामाङ रहेका छन्।

अध्यक्ष लामाले भने, “कुवेतको समाजलाई फुटबाट जोगाउन र सबै श्रमिक साथीहरूलाई एकताको सूत्रमा बाँध्न यो कदम चालिएको हो।”

असन्तुष्टि समाधान गर्दै एउटै एनआरएनए बनाउने प्रयास

एनआरएनएको नाममा अर्को समूह गठन गर्ने तयारीमा रहेका केही श्रमिक साथीहरूको असन्तुष्टि सम्बोधन गर्दै उनीहरूसँग संवादको माध्यमबाट एकता कायम गर्ने समन्वय समितिको उद्देश्य रहेको छ।

संयोजक राजेन्द्र तामाङले भने, “केन्द्रीय तहमा रहेका सबै साथीसँग निरन्तर समन्वय भइरहेको छ। अहिलेको आवश्यकता नै एकता हो, र हाम्रो उद्देश्य पनि यही हो।”

आगामी अधिवेशनको तयारी

एनसीसी कुवेतले आगामी जुलाई १८ तारिख अधिवेशन गर्ने निर्णय गरिसकेको छ र त्यसका लागि सदस्यता दर्ता प्रक्रिया खुला गरिसकेको छ। संस्थाले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ–संस्था, श्रमिक साथीहरूलाई पक्ष–विपक्षमा नलागी एकताको पक्षमा उभिन र सदस्यता लिनुहोस् भन्ने आग्रह समेत गरेको छ।

एनआरएनएको सशक्त र एकीकृत उपस्थिति नै प्रवासी नेपालीहरूको अधिकार संरक्षण, कल्याण र आवाजको एकता हो भन्ने सन्देश दिन यो समन्वय प्रयास गरिएको जनाइएको छ।