गैरआवासीय नेपाली संघ, बेलायतले स्पष्ट गर्‍यो – प्रेम गाहा मगर नेतृत्वको कार्यसमिति नै विधिवत् र मान्य

everest kitchen

लन्डन – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत (NRNA NCC-UK) ले हालको कार्यसमिति अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा गठन भएको समितिलाई नै विधिवत् र कानूनी रुपमा मान्यता प्राप्त भएको स्पष्ट पारेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC) को नेतृत्वमा रहेका अध्यक्ष महेश श्रेष्ठको नेतृत्वको समितिलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले २०८२ जेठ ८ गते औपचारिक रुपमा मान्यता दिइसकेको छ। सो मान्यता सम्बन्धी पत्र सबै नेपाली दूतावासहरूमा पठाइसकिएको संघले जनाएको छ।

यसअघि २०८० साल चैत २१ गते सर्वोच्च अदालतले जारी गरेको परमादेशको आधारमा २०२५ मे ३ देखि ५ सम्म काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरिएको थियो। सोही निर्देशनअनुसार गठित निर्वाचन समितिको मार्गदर्शनमा बेलायतस्थित एनआरएनए शाखाले २३ मार्च २०२५ मा आफ्नो एकता महाधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, बेलायतले हाल २०२५–२७ कार्यकालको लागि सदस्यता खुला नगरिएको जानकारी गराउँदै कुनै भ्रममा नपर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ।

संघले चेतावनी दिँदै भनेको छ कि, “हाल प्रयोगमा ल्याइएको MIS प्रणाली संस्थाको नियन्त्रणमा नरहेको हुँदा आफ्ना व्यक्तिगत विवरणको दुरुपयोग हुन सक्ने सम्भावना भएकाले सबै नेपाली समुदाय सतर्क रहनु पर्नेछ।”

संघले आफ्नो विज्ञप्तिमार्फत बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई एकता, पारदर्शिता र संस्थागत उत्तरदायित्वप्रति सधैँ प्रतिबद्ध रहने जनाएको छ। साथै कुनै अफवाह वा भ्रममा नपरी संघबाट जारी आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आह्वान गरेको छ।