मलेसिया-नेपाल व्यवसाय परिषदद्वारा क्वालालम्पुरमा नेटवर्किङ्ग कार्यक्रम सम्पन्न

everest kitchen

क्वालालम्पुर — मलेसिया-नेपाल व्यवसाय परिषद (MNBC) ले नेपालको राजदूतावास, क्वालालम्पुर सँगको सहकार्यमा २०७५ जेठ १६ गते (२९ मे २०२५, बिहीबार) क्वालालम्पुरमा एक व्यवसायिक नेटवर्किङ्ग कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रममा मलेसियाली व्यवसायीहरू, क्वालालम्पुरमा रहेका नेपाली उद्यमीहरू, नेपालका मित्रहरू तथा नेपाली राजदूतावासका कूटनीतिज्ञसहित ५० भन्दा बढी सहभागीहरू सहभागी भएका थिए।

कार्यक्रमको स्वागत मन्तव्यमा MNBC का संस्थापक तथा अध्यक्ष एवं पाराडाइज ग्रुपका कार्यकारी अध्यक्ष डाटो पार्दिप कुमार कुकरेजा ले परिषदको विकासक्रम र मलेसिया–नेपालबीचको आर्थिक कूटनीति मजबुत पार्न परिषदले खेलेको भूमिकाबारे जानकारी गराए।

नेपालका लागि महामहिम राजदूत डा. नेत्रप्रसाद तिम्सिना ले नेपालमा उपलब्ध साना तथा मध्यम उद्योग (SMEs) देखि लिएर ठूला पूर्वाधार परियोजनाहरूसम्मका लगानी सम्भावनाहरूबारे प्रस्तुति दिनुभयो। उहाँले नेपाल सरकारले वैदेशिक लगानी आकर्षित गर्न ल्याएको लगानीमैत्री नीति तथा कानुनहरूबारे जानकारी दिँदै मलेसियाली व्यवसायीहरूलाई नेपाल भ्रमण गरी लगानी अवसरहरू अन्वेषण गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा जानकारी गराइएअनुसार, मलेसिया-नेपाल व्यवसाय परिषदको प्रतिनिधिमण्डल आगामी जुलाई २०२५ को पहिलो हप्तामा नेपाल भ्रमण गर्नेछ। उक्त भ्रमणले दुई देशबीचको व्यापारिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमले दुवै देशका व्यवसायीहरूबीच प्रत्यक्ष संवाद र सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।