गैरआवासीय नेपाली संघ (NRNA) युरोप संयोजक प्रेम ब. गुरुङद्वारा सदस्यता वितरणबारे स्पष्ट निर्देशन, MIS प्रयोग नगर्न आग्रह

everest kitchen

काठमाडाैं, ३ जुन २०२५ – गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गत युरोप संयोजक प्रेम ब. गुरुङले एक सूचना जारी गर्दै सबै राष्ट्रिय समन्वय परिषद्हरूलाई सदस्यता वितरणका क्रममा विवादास्पद MIS प्रणाली प्रयोग नगर्न स्पष्ट निर्देशन दिएका छन्।

गुरुङद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ कि ०६ मे २०२५ मा अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीको बैठकको निर्णय अनुसार MIS प्रणाली संस्था अन्तर्गत नभई व्यक्तिगत नियन्त्रणमा रहेको र यसले संस्थाको हितभन्दा व्यक्तिगत तथा गुटगत स्वार्थको प्रवर्द्धन गरिरहेको ठहर गरिएको छ।

स्रोतका अनुसार, यो निर्णय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CBI) को छानबिन प्रतिवेदनमा आधारित रहेको जनाइएको छ। सो प्रतिवेदनले MIS प्रणालीलाई संस्थागत दुरूपयोगको मुख्य कारण मानेको छ।

अझ उल्लेखनीय कुरा, हाल श्री गौरीराज जोशीको नामबाट सर्वोच्च अदालतले खारेज गरिसकेको विधानको हवाला दिँदै MIS प्रणाली मार्फत सदस्यता वितरण तथा निर्वाचन सञ्चालनको अनधिकृत निर्देशन आएको र सो कदम गैरजिम्मेवार र सामाजिक सद्भावमा असर पार्ने खालको रहेको संयोजक गुरुङले बताए।

उनले सबै राष्ट्रिय समन्वय परिषद्हरूलाई भ्रममा नपरी आफैंले बनाएको वा ICCले निर्माण गरेको पोर्टलमार्फत मात्र सदस्यता वितरण गर्न र गराउन निर्देशन दिएका छन्।

NRNA युरोप संयोजक गुरुङको यस निर्देशनले संस्था भित्रको व्यवस्थापन सुधार गर्ने तथा विवाद समाधान गर्ने प्रयासको रुपमा हेरिएको छ।