जलेश्वर, महोत्तरी – नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममार्फत महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ मा इन्डोर क्रिकेट एकेडेमी भवन निर्माण तथा खेलकुद सामग्री खरिदका लागि ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।
स्थानीय युवा तथा खेलप्रेमीहरूबीच हर्षको विषय बनेको यो पहललाई खेलकुदको पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। एकेडेमी निर्माणसँगै खेलकुद सामग्री उपलब्ध गराउने योजनाले जलेश्वर क्षेत्रका युवाहरूको क्षमता अभिवृद्धि गर्न र स्थानीय तहमा खेलकुद संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस ऐतिहासिक बजेट सुनिश्चितताका लागि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय श्री तेजुलाल चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री शरत सिंह भण्डारी, महोत्तरी क्षेत्र नं. ३ (ख) बाट निर्वाचित सांसद माननीय श्री महन्त ठाकुर तथा जलेश्वर नगरपालिकाका नगर प्रमुख श्री सुरेश साह सोनारको निरन्तर पहल र सहकार्य प्रति नेपाल क्रिकेट संघका उपाध्यक्ष तथा महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष रोशन सिंहले विशेष आभार प्रकट गरेका छन् ।
साथै, उनले यस प्रयासलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, जनप्रतिनिधि तथा खेलप्रेमीहरूलाई पनि धन्यवाद ज्ञापन गरेका छन।
सिंहका अनुसार सरकारको यस किसिमको लगानीले न केवल खेलकुद क्षेत्रलाई गतिशील बनाउनेछ, बरु स्थानीयस्तरमा रोजगारी सिर्जना तथा युवा उर्जाको सकारात्मक उपयोगमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।