दमाम, साउदी अरबमा नेपाली युवक गम्भीर मानसिक समस्याबाट पीडित, उद्धारका लागि आपतकालीन सहयोगको अपिल

everest kitchen

दमाम, साउदी अरब – साउदी अरबको दमामस्थित Erada Complex and Mental Health Hospital मा एक नेपाली युवक विगत १६ दिनदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहेका छन्। पीडित नेपालीको नाम असिफ कबरी मियाँ रहेको खुलेको छ।

असिफ साउदी अरबको Arabian Fal Company Limited मा कार्यरत थिए। उनी मदरल्यान्ड ओभरसिज प्रालि नेपाल मार्फत निर्माण कार्यका लागि साउदी अरब पुगेका थिए। हाल मानसिक अस्थिरता तथा शारीरिक समस्या दुबैसँग संघर्ष गरिरहेका उनी कम्पनीबाट भागेपछि दमाम प्रहरीले उद्धार गरी अस्पतालमा भर्ना गराएको जनाइएको छ।

पारिवारिक स्रोतका अनुसार, उनले नेपाल फर्कन स्पष्ट इच्छा व्यक्त गरेका छन्, तर कम्पनीले कुनै प्रकारको सहयोग नगरेको बताइएको छ। यसले गर्दा उनको स्वदेश फिर्ती तथा उपचार प्रक्रिया थप जटिल बनेको छ।

आपतकालीन सहयोगको अपिल

साउदी अरबमा रहेका सम्पूर्ण नेपाली संघसंस्था, सामाजिक संगठनहरू, नेपाली दूतावास (रियाद), तथा विशेषगरी दमाम र आसपास क्षेत्रका नेपाली समुदायहरूलाई यो गम्भीर अवस्थाका नेपाली युवकको उद्धार र सुरक्षित स्वदेश फिर्तीका लागि सक्दो सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ।

सामाजिक उत्तरदायित्व र मानवता

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न समस्यामा परेका नेपालीहरूको उद्दार गर्नु हामी सबैको साझा दायित्व हो। असिफ कबरी मियाँको जीवन, स्वास्थ्य र भविष्य गम्भीर संकटमा परेको यस अवस्थामा मानवताको आधारमा एकजुट भई सहयोग गर्न आवश्यक छ।

यस कार्यमा पहल गर्ने संघसंस्था, समुदाय, वा व्यक्ति जो–कोहीका लागि यो एउटा महान सामाजिक कार्य हुनेछ भन्ने विश्वास लिइएको छ।