विश्वकप लिग–२ : नेदरल्यान्डविरुद्ध नेपाल फिल्डिङमा, वर्षाका कारण खेल प्रभावित

everest kitchen

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ। खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भइरहेको हो।

नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपाल फिल्डिङमा उत्रिएको हो। यद्यपि, खेल वर्षाका कारण प्रभावित भएको छ। समाचार तयार पार्दासम्म नेदरल्यान्ड्सले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै २१९ रन बनाएको छ।

नेपालले यसअघि घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटले रोमाञ्चक जित निकालेको थियो। त्यो जितलाई निरन्तरता दिने लक्ष्यसहित नेपाल आजको खेलमा उत्रिएको हो।

नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित निकालेको छ भने नेपाल दुई खेलमा विजयी भएको छ।

अंकतालिकामा नेदरल्यान्ड्सले २० खेलबाट २६ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ। नेपाल भने १३ खेलबाट जम्मा ८ अंकसहित सातौं स्थानमा रहेको छ।

नेपालका लागि करण केसी, सन्दीप लामिछाने र ललित राजबंशीले समान २–२ विकेट लिएका छन् भने सोमपाल कामीले १ विकेट लिएका छन्।