गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपाल बीच सहकार्यको प्रतिबद्धता: श्रमिक पुनःएकीकरण र सीप, लगानी प्रवर्धनमा संयुक्त पहल

everest kitchen

काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपाल बीच आपसी सहकार्यलाई थप सुदृढ गर्दै संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटार स्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा दुई पक्षले साझा उद्देश्यमा काम गर्ने सहमति गरेका छन्।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को २०२१/२२ को तथ्यांक प्रस्तुत गर्दै, सो अवधिमा ४ लाख ७० हजार ९७८ नेपाली श्रमिक देश फर्किएका उल्लेख गर्दै यी रिटर्नीहरूको पुनः एकीकरणमा सहयोगको आवश्यकता रहेको बताए। उनले भने, “रिटर्नी फेडरेशन र एनआरएनएको उद्देश्य एउटै छ। यसका लागि ‘नवयुग’ परियोजना मार्फत संस्थागत सहकार्य गर्नुपर्ने आवश्यकता छ।”

डा. केसीले रिटर्नीहरूको कानुनी सहयोग, रोजगारी, सीप अभिवृद्धि, र डिजिटल साक्षरताजस्ता विषयमा एकीकृत परियोजनामार्फत काम गर्न सकिने धारणा व्यक्त गरे। “हामीले एउटा पुल निर्माण गरेका छौं, अब एकसाथ अघि बढ्ने समय आएको छ,” उनले थपे।

सहकार्यको प्रमुख उद्देश्य भनेको देश फर्केका श्रमिकहरूको सीप र अनुभवलाई नेपालको समृद्धिमा रूपान्तरण गर्नु हो। यसले न केवल उनीहरूको पुनः एकीकरण प्रक्रिया सहज बनाउनेछ, बरु रोजगार र व्यवसायिक अवसरहरूको निर्माणमा पनि ठूलो भूमिका खेल्नेछ।

रिटर्नी फेडरेशन नेपालका अध्यक्ष विनोद भट्टराईले पनि “हिजोका हामी आज रिटर्नी, आजका एनआरएन, र भोलिका रिटर्नी” भन्दै सहकार्यको महत्वलाई स्पष्ट पारे। उनले भने, “सहकार्यले मात्र दीर्घकालीन समाधान र अवसरहरू सृजना गर्न सक्छ, त्यसैले हामी साझा एजेन्डामा योजना निर्माण र कार्यान्वयनका लागि तत्पर छौं।”

कार्यक्रममा उपसचिव सूर्य पाठकले यस्तो सहकार्यलाई “समय सापेक्ष र आवश्यक पहल” भनेर प्रशंसा गर्दै सबै सरोकारवालालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनले भने, “एनआरएनएको सहयोग यस महामारी र वर्षाको समयमा पनि महत्वपूर्ण छ। सरकारले बजेटमार्फत सकारात्मक पहलकदमी लिएको छ, र नीतिहरु बिस्तारै बनाइरहेका छन्।”

तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले साना र मझौला लगानीकर्तालाई प्राथमिकतामा राखेर रिटर्नी, एनआरएनए र स्थानीय सरकार बीच त्रिपक्षीय समन्वयमार्फत लगानी प्रवर्द्धन गर्ने आवश्यकता औंल्याए। उनले युवाहरूका लागि सीप केन्द्र स्थापना गर्नका लागि पनि पहल गर्ने प्रस्ताव गरे।

रिटर्नी फेडरेशनका उपाध्यक्ष जितेन्द्र बानियाँले रिटर्नीहरूको समाज कल्याण, सीप हस्तान्तरण, पूँजीगत लगानी र नेपाली उत्पादनको प्रवर्द्धनमा एनआरएनए र रिटर्नी फेडरेशन मिलेर दीर्घकालीन कार्यक्रम बनाउन सकिने प्रस्ताव राखे।

सो अवसरमा, रिटर्नी फेडरेशनका इन्चार्ज कृष्ण बहादुर केसीले राज्यको उपेक्षा र रिटर्नीहरूको समस्या सम्बोधन गर्न सरकारसँग सहकार्य गर्न एनआरएनएसँग दबाब दिनुपर्ने बताए। रिटर्नी फेडरेशनका पूर्व उपाध्यक्षले पनि, “विदेशबाट फर्किएका श्रमिकहरूका लागि लगानीको वातावरण सहज बनाउन र सीप हस्तान्तरणमा टेवा पुर्याउन एनआरएनएसँगको सहकार्य सकारात्मक रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी सबै प्रतिनिधिहरूले साझा दृष्टिकोण, समन्वय र दीर्घकालीन योजनाको आवश्यकता औंल्याउँदै, अबको कदम व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।