नेपाली श्रमिकहरूका लागि पेनाङमा घुम्ती कन्सुलर सेवा सुरु

everest kitchen

पेनाङ, जुन ७ – मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले पेनाङ शहरमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै घुम्ती कन्सुलर सेवा सुरु गरेको छ। शनिबारदेखि सञ्चालनमा आएको उक्त सेवा पुलाउ पेनाङस्थित सनसाइन स्क्वायर, लेभल ४, बैंक्वेट हलमा जारी रहेको छ।

नेपाली राजदूतावासका अनुसार पहिलो दिनमै करिब १४५ जना सेवाग्राहीले विभिन्न कन्सुलर सेवा प्राप्त गरेका छन्। सेवा आइतवार (भोली) सम्म सञ्चालन हुनेछ।

यस घुम्ती कन्सुलर सेवा कार्यक्रम प्रवासी नेपाली समन्वय समिती (पिएनसीसी) मलेसियाको आर्थिक सहयोगमा सम्पन्न भएको हो। सो सेवाबाट राहदानी नविकरण, नागरिकता सम्बन्धी प्रमाणपत्र, कन्सुलर सिफारिसजस्ता आवश्यक कागजातहरू प्रदान गरिने जनाइएको छ।

कार्यक्रममा पिएनसीसी मलेसिया प्रमुख पुर्ण सुब्बा लिम्बु, कार्यकारी निर्देशक सोम प्रसाद लामिछाने, नेपाली राजदूतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य, र जन उद्दार केन्द्र मलेसियाका अध्यक्ष केसु थापा लगायतको उपस्थिति रहेको थियो।

सेवाको सहज र प्रभावकारी सञ्चालनका लागि पिएनसीसी मलेसिया र जन उद्दार केन्द्र मलेसियाले स्वयंसेवकहरू खटाएको थियो।

कार्यक्रमको बारेमा पिएनसीसी मलेसियाका प्रमुख पुर्ण सुब्बा लिम्बुले, “भविष्यमा पनि यस्ता सेवाहरूमा नेपाली दूतावाससँग निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएका छन्।”

राजदूतावासले मलेसियाका अन्य क्षेत्रहरूमा पनि आगामी दिनहरूमा यस्ता घुम्ती सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।