NRNA NCC-पोर्चुगल अब जुलाई ८ मा महाधिवेशन गर्ने
लिस्बन, पोर्चुगल | ०७ जुन २०२५ –
गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, पोर्चुगल (NCC-Portugal) ले आफ्नो आगामी राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको छ। यसअघि जुन ६, २०२५ मा हुने भनिएको महाधिवेशन अब आगामी जुलाई ८, २०२५ मा हुने जानकारी सार्वजनिक गरिएको छ।
“नेपालीका लागि नेपाली” भन्ने नारासहित सन् २००६ देखि पोर्चुगलमा क्रियाशील यस संघले विदेशमा रहेका नेपाली समुदायको हित र एकताको लागि निरन्तर क्रियाशील भूमिका खेल्दै आएको छ। हरेक दुई वर्षमा हुने महाधिवेशन संघको विधान अनुसार नियमित रूपमा आयोजना हुँदै आएको हो।
संघका अध्यक्ष दीपा काफ्ले र कार्यवाहक महासचिव दीपेश बिष्ट द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ कि हालै गठन गरिएको समन्वय समिति, समाजका अग्रज तथा बौद्धिक व्यक्तिहरूको सुझाव अनुसार, सहमति र एकताको वातावरण बलियो बनाउन महाधिवेशनको मिति सारिएको हो।
महाधिवेशनको नयाँ मिति सम्बन्धमा संघले पोर्चुगलभर रहेका सम्पूर्ण संघ-संस्था, पत्रकार, व्यवसायी, सरोकारवाला तथा पञ्जीकृत सदस्यहरूलाई जानकारी गराएको छ।
संघले पुनः एक पटक सबैलाई एकता, सहकार्य र सहमतिको भावनासहित आगामी महाधिवेशनमा सहभागी हुन आग्रह गरेको छ।