जोहोरबारु, मलेसिया –
नेपाल थामी समाज मलेसियाले आफ्नो पहिलो ऐतिहासिक अधिवेशन मलेसियाको जोहोरबारुस्थित लार्किनको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति सभा हलमा आइतबार भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले थामी समुदायको पहिचान, संस्कृति र एकताको सशक्त प्रदर्शन गरेको छ।
अधिवेशनको उद्घाटन थामी परम्पराअनुसार ‘भुम्या पूजा’ अर्थात तीन ढुंगा पूजा गरेर गरिएको थियो। त्यसपछि थामी धर्मग्रन्थको वाचन गरी कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नव नुरी शेर्पाको उपस्थिति थियो। उनले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराउँदै थामी समाजले समुदायको संरक्षण र प्रवर्द्धनमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। उपाध्यक्षमा पल ठान्टी थामी र निच थामी, महासचिवमा अविरल थामी, सचिवमा मे हाङ ठान्टी थामी, कोषाध्यक्षमा नीर बहादुर थामी र सह–कोषाध्यक्षमा यङ लमि थामी चयन भएका छन्। अन्य सदस्यहरूमा भिम थामी, सन्तकुमार थामी, कमल थामी, प्रज्जल थामी, सुसान्त थामी, अनिल थामी, ॐ थामीलगायतको सहभागिता रहेको छ।
कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। थामी समुदाय मात्र होइन, अन्य नेपाली समुदायको पनि उत्साहजनक सहभागिता रहेको यो कार्यक्रममा थामी सांस्कृतिक नृत्य “सैओले बम्बा” लगायतका विविध सांस्कृतिक प्रस्तुतीहरूले समारोहलाई झनै रङ्गीन बनाएको थियो।
नयाँ अध्यक्ष सन्तोष ठान्टी थामीले हालको जनगणना अनुसार नेपालमा थामी समुदायको जनसंख्या करिब ३२ हजार रहेको जानकारी दिँदै, समाजले समुदायको मौलिक धर्म, भाषा, संस्कृति तथा कला जगेर्ना गर्न विदेशी भूमिमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, विश्वभर छरिएका थामीहरूलाई एकताको सूत्रमा बाँध्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
अधिवेशनमा सहभागीहरूका लागि विशेष नेपाली परिकार तथा चियापानको व्यवस्था गरिएको थियो। कार्यक्रम सफल बनाउन नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, हेल्प मधेश, सुदूरपश्चिम नेपाली समाज मलेसियालगायत विभिन्न संस्थाहरूको उल्लेखनीय सहयोग रहेको थियो।