सिड्नी, १२ जुन २०२५ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले हालै अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) स्तरमा देखिएको विवादबारे आधिकारिक रूपमा प्रतिक्रिया दिँदै एक वक्तव्य जारी गरेको छ।
संघका अध्यक्ष अनिल पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख गरिएको छ कि एनआरएनए अष्ट्रेलिया स्वतन्त्र, दीर्घकालीन र स्थानीय रूपमा दर्ता गरिएको संस्था हो, जसमा हजारौं सदस्य, स्वयंसेवक, सामुदायिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षहरूको सक्रिय योगदान रहँदै आएको छ।
एनआरएनए अष्ट्रेलियाले स्पष्ट पारेको छ कि नेपालको अदालतमा विचाराधीन ICC विवाद संस्था सम्बन्धी सामान्य कार्यप्रवाहसँग कुनै सरोकार नरहेको छ। त्यसैले संघले यस विषयमा तटस्थ धारणा राख्दै ICC स्तरका विवादमा संलग्न नहुने घोषणा गरेको हो।
वक्तव्यमा उल्लेख गरिएको छ: “हामी नेपालस्थित सक्षम अदालतद्वारा तोकिएको निर्णयलाई स्वीकार गर्नेछौं, तर त्योसम्मका लागि एनआरएनए अष्ट्रेलियाको नियमित कार्ययोजना यथावत् रुपमा अगाडि बढ्नेछ।”
संघले सबै सदस्यहरूलाई सदस्यता नविकरण गर्न र इच्छुक नयाँ सदस्यहरूलाई संघमा आबद्ध हुन तथा आगामी वार्षिक साधारण सभा (AGM) र निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।