१३ जून २०२५ | काठमाडौं
हिमाल टाईम्स संवाददाता
प्रवासी नेपाली समन्वय समिति (PNCC) ले आगामी असार १ गते आइतवार (१५ जुन २०२५) का दिन वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई लक्षित गर्दै विशेष कन्सुलर सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
उक्त कार्यक्रम ZOOM प्लेटफर्ममार्फत नेपाली समय अनुसार बेलुकी ८:०० बजे देखि १०:०० बजे सम्म सञ्चालन हुनेछ।
कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवाहरूको जानकारी दिने हो। कन्सुलर सेवा अन्तर्गत पासपोर्ट नवीकरण, प्रमाणिकरण सेवा, कानुनी सहयोग, आपतकालीन सहायता लगायतका विषयमा जानकारी दिने योजना रहेको PNCC ले जनाएको छ।
PNCC ले सम्पूर्ण आप्रवासी श्रमिकहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गर्दै भनेको छ:
“वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूलाई लाभ पुग्ने महत्वपूर्ण कार्यक्रम भएकाले सबैले ZOOM मा जोडिनुहोला।”
कार्यक्रमको लिंक, मीटिङ आईडी र पासकोड PNCC को आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।