काठमाडाैं, ४ असार । इजरेल र इरानबीच विकसित पछिल्लो घटनाका बीच इजरेलमा रहेका नेपालीको सुरक्षास्थिति मूल्यांकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यहाँस्थित नेपालीहरुसँग भर्चुअलमाध्यमबाट अन्तरक्रिया गरेको छ। यस कार्यक्रममा इजरेलका लागि नेपालका दूतावासका राजदूत धनप्रसाद पण्डित, एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारी लगायतका प्रमुख व्यक्ति सहभागी भएका थिए।
बुधबार साँझ आयोजित यो भर्चुअल अन्तक्रियामा, एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरेलको वर्तमान सुरक्षास्थिति निकै संवेदनशील रहेको बताएका छन्। उनले भने, “अहिलेको इजरेलको अवस्था पहिलेको युद्धकालको भन्दा संवेदनशील छ। तर, इजरेल सरकारद्वारा तोकिएका सुरक्षाका मापदण्डको पालना गर्दा त्यति असुरक्षा छैन। यसैले लापरवाही नगरी सुरक्षित रहन सबैलाई अनुरोध गर्दछु।”
उनले नेपालीहरुलाई सामाजिक सञ्जालमा नकारात्मक गतिविधि र सामग्री पोस्ट नगर्न पनि सचेत गराए। साथै, नेपाल फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले जारी गरेको फर्म भर्न अनुरोध पनि गरे।
इजरेलस्थित नेपाली महावाणिज्य दूतावासका राजदूत धनप्रसाद पण्डितले भने, “इजरेल सरकारले तोकेको सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न महत्त्वपूर्ण छ। शेल्टरमा बस्ने, सुरक्षाका उपायहरुको पालना गर्ने र विशेष अवस्थामा नेपाल फर्कन चाहने नेपालीहरुले परराष्ट्र मन्त्रालयको फारम भर्नुपर्छ।”
त्यस्तै, एनसीसी इजरेलका महासचिव अलि मोहम्मद मिँयाले पनि इजरेल सरकारका सुरक्षाका मापदण्डहरुको पालनालाई अत्यन्त महत्त्वपूर्ण बताउँदै भने, “वर्तमानमा गाडी, पसल लगायत सबै सेवाहरू खुलेका छन् र सामान्य सुविधाहरु उपलब्ध छन्। तथापि, युद्धको अनिश्चितताबीच सबैले सतर्क रहनु आवश्यक छ।”
महावाणिज्य दूतावासले नेपाल फर्कन चाहने नेपालीहरुलाई फारम भर्न सुरु गरेको जानकारी दिएपछि, अहिलेसम्म भने धेरै व्यक्तिहरूले उद्धारको अनुरोध नगरेको पनि उनले बताए। दूतावासले आवश्यक सहयोग दिने प्रतिबद्धता जनाए पनि, विभिन्न स्थानमा कार्यरत नेपालीहरुले भने नेपाल फर्कने तत्कालको योजना नराखेको जनाएका छन्।
एनआरएनएका केन्द्रीय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्त लगायतका पदाधिकारीहरुले इजरेलमा रहेका सबै नेपालीलाई सुरक्षित रहन र आवश्यकता पर्नासाथ दूतावाससँग सहयोग लिन आग्रह गरे।
अन्तिममा, इजरेलस्थित नेपालीको अवस्थाबारे जानकारी लिनका लागि सचिवालयले हटलाइन सेवा सुरु गर्ने तयारी पनि गरेको जानकारी दिइएको छ।
कार्यक्रमको सहजीकरण एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले गरेका थिए।