बेल्जियम, जुन १९, २०२५ —
आजभन्दा ठिक २० वर्षअघि, १९ जुन २००५ का दिन, एक पवित्र सामाजिक भावना बोकी स्थापना गरिएको चितवन सहायता कोष (CAT) बेल्जियमले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। दुई दशकको सफल यात्रापछि संस्था २१ औं वसन्तमा प्रवेश गरेको छ।
स्थापनाकालदेखि नै परोपकारी सेवामा अग्रसर रहँदै आएको यस संस्थाले सामाजिक, शैक्षिक, स्वास्थ्य र आपतकालीन सहयोगजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। विदेशमा रहेर मातृभूमिप्रति समर्पित भावनाले प्रेरित संस्थाका सदस्यहरूद्वारा सञ्चालन हुँदै आएको CAT ले सयौं नेपाली लाभान्वित हुने किसिमका कार्यहरू गर्दै आएको छ।
संस्थाको वार्षिकोत्सवको अवसरमा संस्थामा प्रारम्भदेखि हालसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सम्पूर्ण आजीवन सदस्यहरू, मानार्थ सदस्यहरू, चितवनबाहिर रहेर पनि निरन्तर सहयोग गर्ने सहयोगी दाताहरू, शुभेच्छुकहरू, र समस्त चितवनवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थाले हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेको छ।
“सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै हामी अझ सशक्त ढंगले चितवन र नेपाली समाजको सेवामा समर्पित भइरहनेछौं,” संस्थाका प्रतिनिधिले जानकारी दिए।
वार्षिकोत्सवको यस विशेष अवसरमा, संस्थाले आगामी दिनहरूमा अझ प्रभावकारी सेवा कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ।