थाइल्याण्डमा अलपत्र परेका ७ जना नेपालीको उद्धार

everest kitchen

बैंकक, असार ११ गते – म्यानमारको मेवाडी क्षेत्रबाट अनलाइन स्क्यामिङ्ग कार्यमा जबर्जस्ती संलग्न गरिएका सात जना नेपाली नागरिकलाई थाइल्याण्ड सरकारको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको छ।

नेपाली राजदूतावास, बैंककले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, उद्धार गरिएका सातै जना पुरुष नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेशन अफिस, मेसोट हुँदै थाइल्याण्ड ल्याइ नेपाल फर्काइएको हो।

राजदूतावासले अनलाइनमार्फत सजिलो कमाइको आश देखाई युवाहरूलाई फसाइने र उनीहरूलाई जबर्जस्ती गैरकानुनी कार्यमा संलग्न गराइने जस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, यस्ता प्रलोभनमा नपर्न सबै नेपालीलाई पुनः चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले तोकेको श्रम स्वीकृति प्राप्त गरी मात्र वैदेशिक रोजगारीमा जानुहोस्।” साथै कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता मुलुकहरूमा अनौपचारिक रुपमा, खासगरी सामाजिक सञ्जालमार्फत भएको रोजगार प्रस्तावलाई नपत्याउन आग्रह गरिएको छ।

राजदूतावासले नागरिक समाज, सञ्चार माध्यम तथा सरोकारवालाहरूलाई यस्तो जानकारी व्यापक रूपमा फैलाउन आग्रह गर्दै, युवाहरूलाई सुरक्षित र कानूनी बाटोबाट मात्रै विदेश जान प्रेरित गर्न सहयोग मागेको छ।

थप जानकारी तथा सहयोगका लागि नेपाली राजदूतावास, बैंकक सधैं तयार रहेको जनाएको छ।