काठमाडौं, १३ असार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नु पर्ने बताएका छन ।
शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिदोँ परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्षशक्ति उत्पादन गर्न सके रोजगारीको लागि धेरै चिन्ता गर्नु नपर्ने बताएका हुन ।
मन्त्री भण्डारीले अब श्रमको बारेमा अध्ययनको आवश्यकता रहेको बिषयमा जोड दिदैं काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन लेवर स्टडिज कोर्ष सन्चालन गर्ने गृहकार्य र छलफल अगाडि बढी रहेको बताए ।
उनले सूचनाको अभावमा स्वेदशी होस वा वैदेशिक रोजगारीका लागि उपलब्ध भएका अवसरहरु पनि सहि सदुपयोग गर्न नसकेको अवस्थालाई चिर्नका लागि सूचना पु्र्याउने निकायहरुलाई सक्षम बनाउनु पर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले श्रम मन्त्रालयले दिने सवै सेवाहरु एकिकृत रुपमा प्रवाह गर्नका लागि ७ सय ५३ स्थानीय तहबाट स्थापना गरिएको रोजगार सेवा केन्द्र मार्फत सूचना प्रवाह गर्ने काम भई रहेको बताए । श्रम मन्त्रालयबाट प्रवाह हुने सबै सेवाहरुलाई डिजिटलाइलेसन गर्ने प्रकृयामा अगाडि बढी रहेको उनको भनाई छ ।
उनले श्रम र आप्रावसनको क्षेत्रलाई सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेल्नु स्वीटजरल्याण्ड सरकार र स्वीस कन्ट्याक्टलाई सहयोगको लागि आभार प्रकट गरे । अगामी दिनमा पनि निरन्तर सहयोगको लागि आव्हान समेत गरे ।
मन्त्री भण्डारीले नेपालमा पहिलो पटक राष्ट्रिय आप्रवासन नीति करिब करिब टुंगिने अवस्थामा पुगेको जानकारी गराउँदै छिटटै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
श्रम सचिव डा. कृष्णहरि पुष्करले तालिम र सीपको बीचमा तादाम्यता नहुने, आवश्यकता र तालिमको बीचमा पनि तादाम्यता नहुने, एकै व्यक्तिले धेरै तालिम लिएको अवस्थामा यसलाई व्यवस्थापन गर्नका लागि यस त्रिपक्षीय सम्झदारीले सहयोग विश्वास व्यक्त गरे ।
उनले तीन वटै संस्थाले एक अर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पुर्याउने आशा लिएको बताए ।