सञ्जय मिश्रा
रौतहट १३ असार । रौतहटको गौर स्थित भारतबाट नेपालतर्फ लागू औषध ल्याउँदै गरेका स्याङ्जाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सुराकीका आधारमा जाँच गर्दा लागू औषधसहित उनी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा स्याङ्गजा हरिवास गाउँपालिका ४ का २१ बर्षीय निलकुमार थापा मगर रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताएका छन्।
प्राप्त जानकारी अनुसार बिहीवार बिहान करिब १०ः ३० बजे भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको मगरलाई सशस्त्र प्रहरीको चेकप्वाइन्ट नजिकै चेकजाँच गर्दा उनीसंग नोफिन, सेरेज्याक, फेनारगनजस्ता लागू औषध बरामद भएको हो।
मगरको साथबाट ४०–४० एम्पुल लागू औषधसहित जम्मा १२० एम्पुल, १ थान मोबाइल फोन समेत बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
बरामद लागू औषध र मगरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला अदालत रौतहटबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रौतहट स्थित प्रहरीले पछिल्लो समय लागुऔषध कारोवार नियन्त्रणमा बिशेष सक्रियता देखाएको छ।