काठमाडौं, १५ असार । लगातार तेस्रो जित निकाल्दै साबिक विजेता नेपाला एसिसी यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले इन्डोनेसियाविरुद्ध ३७० रनको जित निकालेर सेमीफाइनलमा प्रवेश गरेको हो ।
नेपालले प्रस्तुत गरेको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४।३ ओभरमा ५० रनमै समेटियो ।
इन्डोनेसियाका लागि कविन निरज चड्डाले १५ र दिभित नन्दाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान विपिनप्रसार शर्माले ६ तथा सुगम बुढाथोकी र सुभम खनालले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १३२ रनको योगदान गरे । रोनक श्रीवास्तवले ७१ बलमा आठ चौका र दुई छक्कासहित ८८ रन जोडे ।
यसैगरी अक्रमक ब्याटिङ गरेका परिमार्जन यादवले २८ बलमा आठ छक्का र चार चौकासहित ७१, जोय थापाले ४१ बलमा सात चौकाको मद्दतले ५७, सुगम बढाथोकीले अविजित ३९ र रोशन शाहीले अविजित १० रन बनाए । प्रसिद्धले तेस्रो विकेटका लागि रौनकसँग १४८ तथा पहिलो विकेटका लागि परिमार्जनसँग १३० रनको साझेदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि जोय र सुगमबीच ७४ रनको साझेदारी भएको थियो ।
इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरज चड्डा, महेन्द्र अजी युदा प्रतामा, रेहान रिजा अथैलाले समान एक विकेट लिए ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ ।
नेपालको यो जितसँगै सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।
यसअघि नेपालले सिंगापुर र जापानलाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानको सामना गर्नेछ ।