अबूधावी, यूएई — नेपाली राजदूतावास, अबूधावी र नेपाल एसोसिएसनले संयुक्त रूपमा नेपाली राजदूतावासको सेमिनार हलमा आयोजित श्रमिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्। यस कार्यक्रमको प्रमुख उद्देश्य नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा, यूएईको कानूनको पालना, स्वास्थ्य सुरक्षा र अन्य विविध महत्त्वपूर्ण विषयमा सचेतना प्रदान गर्नु थियो।
कार्यक्रममा नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईकी महिला उपाध्यक्ष सोनम श्रेष्ठ, राजदूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेल, सचिव भूपेन्द्र घिमिरे, र पीआरओ मो. ईरफानज्यूहरूले श्रमिकहरूको अधिकार र सुरक्षा सम्बन्धमा प्रशिक्षण प्रदान गरे। उनीहरूले श्रमिकहरूलाई श्रमिकहरूको स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र कार्यस्थलमा कानूनी हकहरूको पालना गर्नुपर्ने महत्त्वपूर्ण पक्षहरूबारे जानकारी दिए।
यस अवसरमा, यदि कुनै श्रमिकलाई समस्या पर्दा, उनीहरूले नेपाल एसोसिएसन र नेपाली राजदूतावासलाई फोन, ह्वाट्सएप वा ईमेलमार्फत प्रत्यक्ष सम्पर्क गर्नका लागि सुझाइएको थियो।
कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै, नेपाल एसोसिएसन – एनआरएनए एनसीसी यूएईले महिला उपाध्यक्ष सोनम श्रेष्ठज्यूलाई यस जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गरेकोमा हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, यस आयोजनालाई सफल बनाउन नेपाली राजदूतावासलाई कृतज्ञता प्रकट गर्दै भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ।
नेपाल एसोसिएसन – एनआरएनए एनसीसी यूएई परिवारले यो कार्यक्रमलाई समाजका लागि महत्त्वपूर्ण कदम भएको र नेपाली श्रमिकहरूको भलाइका लागि यस्ता पहलहरू निरन्तर गरिने विश्वास व्यक्त गरेको छ।