टोरन्टो, क्यानडा – गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आसन्न निर्वाचन २०२५ को सन्दर्भमा किर्ते कागजातका माध्यमबाट सदस्यता लिइएको आशंका सार्वजनिक भएपछि निर्वाचनको निष्पक्षता र विश्वसनीयता माथि गम्भीर प्रश्न उठेका छन्।
नेपाली समुदायमा लोकतान्त्रिक अभ्यास र संस्थागत पारदर्शिताका लागि एनआरएनए जस्तो संस्था महत्त्वपूर्ण मानिन्छ। तर पछिल्लो समय मतदाता नामावली स्वीकृत गर्ने प्रक्रियामा फर्जी विवरण र कागजातहरू प्रयोग गरिएको उल्लेख गर्दै, विभिन्न सामाजिक सञ्जाल र संस्थाहरूले आपत्ति जनाएका छन्।
उदाहरण स्वरूप उठाइएका केही मुद्दाहरू:
-
२ वर्षको आवाश्यक बसोबास अवधि नपुगेका व्यक्तिहरूको सदस्यता स्वीकृत हुनु।
-
एकै घरमा बस्ने दुई व्यक्तिमा एउटाको सदस्यता स्वीकृत हुनु, अर्कोको अस्वीकार गरिनु – स्पष्ट द्वैध मापदण्डको संकेत।
-
Work Permit प्राप्त मिति एकै दिनको हुँदा–हुँदै पनि एकजनाको मात्र सदस्यता स्वीकृत हुनु।
-
केही नेपालीले क्यानडा आउनु अघिको देशको कागजात प्रस्तुत नगरी सदस्यता पाएका शंका।
यी विषयहरूले निर्वाचन प्रक्रियाको स्वच्छता, निष्पक्षता र पारदर्शिता माथि गम्भीर प्रश्न उठाएको छ।
नेपाली लोकतान्त्रिक समाज क्यानडाले निर्वाचन समितिलाई दावी–विरोधका लागि निश्चित समय दिने, सक्कल कागजातहरू नोटरी पब्लिकमार्फत प्रमाणित गराई पेश गर्ने व्यवस्था मिलाउने, तथा आवश्यक परे छानबिन समिति गठन गरी सत्यतथ्यको अनुसन्धान गर्ने माग गरेको छ।
यसरी विवादित सदस्यता प्रणाली कायम रहेमा, एनआरएनए क्यानडाको निर्वाचन नै प्रभावित हुने, वा स्थगित हुनसक्ने सम्भावनामा समुदाय चिन्तित देखिएको छ।
एनआरएनए जस्तो विश्वस्तरको संस्था प्रति आम नेपालीको विश्वास कायम राख्न निर्वाचन प्रक्रिया पूर्णतः निष्पक्ष र पारदर्शी हुन आवश्यक छ। निर्वाचन समितिले उजुरी, दावी–विरोधलाई गम्भीरतापूर्वक लिँदै निष्पक्षता सुनिश्चित गर्न आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ।