पर्थ, पश्चिम अष्ट्रेलिया — आगामी NRNA Western Australia 2025–2027 कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा आरती बम (Aastha) ले नारी निकुञ्ज महिला सदस्य पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी छिन्।
सामुदायिक सेवा र संस्कृतिको संरक्षणमा गहिरो रुचि राख्ने आरतीले, यो उम्मेदवारी केवल पदको आकांक्षा नभई, समुदायप्रतिको जिम्मेवारी र समर्पणको निरन्तरता भएको स्पष्ट पारिन्।
“संस्कृति हाम्रो पहिचानको मेरुदण्ड हो”
आरती बमका अनुसार, “नेपालबाट हजारौँ माइल टाढा रहेर पनि हामीलाई एकताबद्ध राख्ने शक्तिशाली सूत्र हाम्रो भाषा, संस्कृति र परम्परा हो। यही हाम्रो आधार हो — जुन भावी पुस्तासम्म जीवित राख्न हामी सबै जिम्मेवार छौं।”
उनले उम्मेदवारीमार्फत समाजभित्र महिला सशक्तीकरण, सांस्कृतिक पहिचानको जगेर्ना, र समावेशी नेतृत्वको प्रवर्द्धन गर्ने अठोट व्यक्त गर्नुभएको छ।
उनका मुख्य प्रतिबद्धताहरू:
सांस्कृतिक कार्यशालाहरू
– नेपाली लोकनृत्य, भाषा, हस्तकला र परिकारहरूमा केन्द्रित कार्यक्रमहरूमार्फत हाम्रा संस्कृति जीवन्त राख्ने।
चाडपर्वलाई समावेशी बनाउने पहल
– तीज, दशैं, तिहार आदि पर्वहरूमा सबैलाई जोड्ने, अपनत्व दिने र महिला सहभागिता बढाउने वातावरण निर्माण गर्ने।
पुस्ताबीचको सम्बन्ध सुदृढ बनाउने
– नयाँ पुस्तालाई अग्रजहरूसँग जोडेर संस्कार, मूल्य र परम्परा हस्तान्तरण गर्ने उद्देश्यका कार्यक्रम विकास गर्ने।
महिला आवाजलाई सशक्त बनाउने
– समुदायमा रहेका महिलाहरूका समस्या, सुझाव र आशाहरूलाई नेतृत्व तहमा पुर्याउने दायित्व वहन गर्ने।
समुदायप्रतिको अपिल:
“म आफ्नो ऊर्जा, लगनशीलता र संस्कृतिप्रतिको गहिरो प्रेमलाई नारी निकुञ्जमार्फत समुदायको सेवामा लगाउन चाहन्छु। यसका लागि तपाईंहरूको साथ, समर्थन र मतको हार्दिक अनुरोध गर्दछु।” — आरती बम (Aastha)