पर्थ, अष्ट्रेलिया — गैर-आवासीय नेपाली संघ (NRNA) को आगामी २०२५–२०२७ कार्यकालको लागि पश्चिम अष्ट्रेलियामा सक्रिय समाजसेवी बिमला लामाले नारी निकुञ्ज राज्य संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
झण्डै २१ वर्षदेखि अष्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएकी लामा, यसअवधिमा सामाजिक संघसंस्थाहरूसँग सक्रिय सम्बन्ध राख्दै आएकी छन्। पछिल्लो कार्यकालमा उनी NRNA नारी निकुञ्ज राज्य समन्वय समितिको डिपुटी कोअर्डिनेटरको जिम्मेवारीमा रहेकी थिइन्।
उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, “एनआरएनए जस्तो संस्था केवल प्रवासीहरूको प्रतिनिधिमात्र होइन, हाम्रो पहिचान र एकताको केन्द्र हो। यसमा महिलाको सहभागिता, नेतृत्व र आवाज अझ सशक्त बनाउनु मेरो लक्ष्य हो।”
उनले आफ्नो उम्मेदवारीको मूल उद्देश्य महिला सशक्तीकरण, सामाजिक एकता र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन रहेको स्पष्ट पारिन्।
उनका प्रमुख प्रतिबद्धताहरू यसप्रकार रहेका छन्:
-
रोजगारीमूलक तथा सीपमूलक तालिममार्फत महिला आत्मनिर्भरता
-
नवआगन्तुक महिलाहरूका लागि सहयोगी ‘सपोर्ट नेटवर्क’
-
स्वास्थ्य तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरू
-
महिला नेतृत्वमा सांस्कृतिक कार्यक्रमको प्रवर्द्धन
-
विभिन्न संघसंस्थासँग सहकार्यमा समावेशी र प्रभावकारी अभियान
बिमला लामाको उम्मेदवारीलाई पर्थस्थित नेपाली समुदायभित्रबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। धेरैले उनलाई अनुभवी, पहुँचयुक्त र निस्वार्थ सेवाभावी उम्मेदवारको रूपमा उल्लेख गरेका छन्।