सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालको निर्वाचन नजिकिँदै गर्दा सन्जीव ‘गोर्खाली’ ढकाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाली समुदायको स्थायित्व, समावेशिता र पारदर्शिता अभिवृद्धिमा लामो समयदेखि संलग्न रहेका ढकाले ‘कार्यमा विश्वास, वाचा भन्दा परिणाम’ भन्ने नाराका साथ उम्मेदवारी प्रस्तुत गरेका हुन्।
ढकाले आफ्नो उम्मेदवारीसँगै प्रस्तुत गरेका मुख्य एजेन्डाहरू यसप्रकार छन्:
NRNA Foundation लाई संस्थागत बनाउँदै स्वतन्त्र च्यारिटी संस्थाको रूपमा विकास गर्ने, जसले प्रत्यक्ष रूपमा NRNA Australia लाई रिपोर्ट गर्नेछ।
विद्यार्थीहरूलाई फेरि सहायक सदस्य बनाउने र नेपालसँग भावनात्मक वा पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूलाई समेत सदस्यतामा समेट्ने।
सहायक सदस्यहरूमध्येबाट स्वतन्त्र निकायमार्फत राष्ट्रिय विद्यार्थी परिषद गठन गर्ने, जसले पूर्ण रूपमा विद्यार्थी मुद्दामा केन्द्रित भएर काम गर्नेछ।
युवाहरू, महिलाहरू तथा क्षेत्रीय आवाजहरूको उत्थानमा विशेष प्राथमिकता।
स्थानिय, राज्य र संघीय सरकारसँग समन्वय गर्दै नेपाली समुदायको प्रभाव विस्तार गर्ने।
राजनीतिभन्दा माथि उठेर पारदर्शिता, जवाफदेहिता र संस्थागत नेतृत्व प्रवर्द्धन।
ढकाले निकट भविष्यमा विस्तृत एजेन्डा र सेवा कार्ययोजना सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “यो केवल नेतृत्वको सवाल होइन, यो सेवा र सम्पूर्ण नेपाली अष्ट्रेलियन समुदायलाई एकढिक्का पार्ने संकल्प हो,” उनले बताएका छन्।
NRNA अष्ट्रेलियाको नेतृत्वमा नयाँ सोच, सक्रियता र समावेशी नीतिको खाँचो रहेको सन्दर्भमा ढकालको उम्मेदवारीले चुनावी माहोल थप तातिएको छ।
ढकाल हाल NRNA Northern Territory सँग आवद्ध छन् र लामो समयदेखि समुदायमा सक्रिय नेतृत्वका रूपमा चिनिन्छन्।