जापान, टोकियो –
एनआरएनए जापानको आगामी कार्यकाल (२०२५–२०२७) नजिकिँदै गर्दा निर्वाचनको तातो माहोल सुरु भइसकेको छ। यसैबीच, सामाजिक क्षेत्रका परिचित अनुहार बिनय गुरुङले खुला सचिव पदमा उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा आफैँ उत्रने घोषणा गरेका छन्।
“अबको एनआरएनए युवाको सहभागिता, पारदर्शिता र शुद्धतामा आधारित हुनुपर्छ,” भन्ने मूल नारासहित गुरुङ चुनावमा होमिएका हुन्।
बिनय गुरुङको परिचय केवल उम्मेदवारको हैसियतमा सिमित छैन। उनी एनआरएनए जापानका केन्द्रिय सदस्य हुन्। साथै, तमू धीं जापानका महासचिव, नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाका कान्तो क्षेत्रीय सचिव, र दोलखा समाज जापानका निवर्तमान सचिवसमेत भइसकेका छन्।
समुदायमा सक्रिय, नेतृत्वमा भरोसा
गुरुङ विगत एक दशकभन्दा बढी समयदेखि जापानस्थित नेपाली समुदायसँग आत्मीयता पूर्वक जोडिएर समाजसेवामा सक्रिय छन्। “मैले समाजका सुख–दुख सँगै बाँडेको छु, अब नेतृत्वमा पुगेर त्यो साथ अझ संस्थागत रूपमा दिन चाहन्छु,” उनले भने।
उनले यसअघि २०२१–२०२३ को कार्यकालको निर्वाचनमा पनि एनआरएनए जापानको कार्यसमिति सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए।
उम्मेदवारीसँगै योजना पनि सार्वजनिक
गुरुङले आफ्नो उम्मेदवारीसँगै पारदर्शिता, जवाफदेहिता र युवाको सक्रिय भूमिकालाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना सार्वजनिक गरेका छन्। “एनआरएनए केवल पदको शोभा होइन, जिम्मेवारी र सेवा हो,” उनले जोड दिए।
अब हेर्न बाँकी छ, बिनय गुरुङको यो प्रतिबद्धता र सक्रियताको मूल्याङ्कन जापानबासी नेपालीले आगामी निर्वाचनमा कसरी गर्नेछन्।