पर्थ, अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत पश्चिम अष्ट्रेलिया (WA) राज्य समितिको २०२५–२०२७ कार्यकालका लागि सह–सचिव (Joint Secretary) पदमा समाजसेवी बीरेन्द्र उदासले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
विगत एक दशकदेखि नेपाली समुदायको सेवामा प्रत्यक्ष र परोक्ष रूपमा समर्पित रहँदै आएका उदास हालको कार्यकाल (२०२३–२०२५) मा पनि NRNA WA राज्य समिति सदस्यको रूपमा सक्रिय छन्। साथै, NAWA (Nepalese Association of Western Australia) मा कार्यसमिति सदस्यको रूपमा पनि उनले योगदान दिएका थिए।
समाजसेवा र नेतृत्वको अनुभवबाट अझ प्रभावकारी सेवा दिने अठोट
उम्मेदवारी घोषणा गर्दै बीरेन्द्र उदासले भने: “नेपाली समुदायको आवश्यकताहरू, चुनौतीहरू र अवसरहरूलाई मैले नजिकबाट बुझेको छु। अब सह–सचिवको भूमिकाबाट अझ प्रभावकारी ढंगले सेवा गर्ने अवसर पाउँ भन्ने अपेक्षा लिएको छु।”
उनको प्रमुख एजेन्डा यसप्रकार छन्:
१. विद्यार्थी र नव–आगन्तुकको सहयोगमा प्राथमिकता
२. वाणिज्यदूत सेवामा सहज पहुँच र सुधार
३. नेपाली मन्दिर निर्माणमा सहकार्य र सांस्कृतिक अभियान सशक्तिकरण
४. नेपाली व्यवसाय, युवा र महिलाको सशक्तिकरणमा योगदान
५. मानसिक स्वास्थ्य तथा घरेलु हिंसाविरुद्ध सचेतना र सहयोग कार्यक्रम
६. नेपाली चाडपर्वको संरक्षण र सामुदायिक एकता प्रवर्द्धन
७. पारदर्शी, उत्तरदायी र समावेशी नेतृत्व प्रणालीको विकास
८. अन्तरसंस्कृतिक सम्बन्ध विस्तारका लागि नेपाली परिकार, संस्कृति, पर्वको प्रवर्द्धन
९. खेलकुद तथा मनोरञ्जन कार्यक्रमहरूद्वारा समुदायमा सहकार्य प्रवर्द्धन
१०. असक्त तथा संकटमा परेका नेपालीहरूलाई तत्काल सहयोगको व्यवस्था
समावेशी टिम “समावेशी” मा उम्मेदवारी
बीरेन्द्र उदास टिम “समावेशी”बाट उम्मेदवारी दिएका छन्। टिमले समुदायमा सहभागितामूलक, पारदर्शी र उत्तरदायी नेतृत्व प्रवर्द्धन गर्ने अठोट लिएको छ।
“एनआरएनए हामी सबैको साझा संस्था हो। सबैको आवाज, सहभागिता र विश्वासले मात्र यसको प्रभावकारिता कायम रहन्छ। म तपाईंहरूको सुझाव, साथ र समर्थनको अपेक्षा राख्दछु,” उनले भने।