पर्थ, पश्चिम अष्ट्रेलिया – जुलाई ७, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिम अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि प्रदीप महर्जनले राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
हस्पिटालिटी क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव संगालेका महर्जन नेतृत्व, टोली भावना, अनुशासन र सिर्जनशीलता जस्ता मूल्यहरूलाई आत्मसात गर्दै समाज सेवा तथा युवासशक्तीकरणमा निरन्तर लागिपरेका छन्।
खेलकुद र समाजसेवामा लामो अनुभव
नेपालमा स्थानीय तथा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा सक्रिय सहभागी महर्जन अष्ट्रेलिया आएपछि पनि खेलकुद गतिविधिहरूमा निरन्तर लागिरहे। हाल उनी काठमाडौं युनाइटेड क्लब – WA का अध्यक्षका रूपमा सेवा दिइरहेका छन्।
उनको भनाइमा, “हस्पिटालिटी र खेलकुद दुबै क्षेत्रमा सहकार्य, समर्पण र विश्वास अत्यावश्यक छन्। यही आधारमा म युवाहरूलाई सुनेको, महसुस गरेको र सहभागी गराउने साझा मञ्च निर्माण गर्न चाहन्छु।”
उम्मेदवारीका प्राथमिकताहरू:
✅ खेलकुद प्रवर्द्धनमार्फत युवाहरूको शारीरिक र मानसिक सशक्तिकरण
✅ नेपाली संस्कृति, भाषा, चाडपर्व र कलाको संरक्षणका लागि युवामैत्री कार्यक्रम
✅ पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नियमित प्रतिवेदन र खुला संवादको अभ्यास
उनले समापनमा भने, “ऊर्जा, इमान्दारिता र निष्ठाका साथ नेतृत्व गर्न तयार छु। तपाईंहरूको साथ, समर्थन र विश्वासको अपेक्षा गर्दछु।”